कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
181

उदयपुर-सभामुख कृष्णबहादुर महराले भू–राजनीतिक सन्तुलन कायम हुन नसके संघीय व्यवस्था टिक्न नसक्ने बताएका छन् । जिल्ला संमन्वय समिति उदयपुरले मंगलबार आयोजना गरेको संविधान र संघीयता कार्यान्वयन र अन्तरसंवाद कार्यक्रममा उनले भारत र चीन दुई शक्तिशाली राष्ट्रको बीचमा रहेको नेपालले दुवै छिमेकीसँग सन्तुलन कायम राखेर अघि बढ्नुपर्ने बताए ।
“दुवै मुलुकसँग सुमधुर सम्बन्ध राख्न सकेमात्र संघीयता कार्यान्वयनमा मद्दत पुग्छ,” उनले भने, “अहिले संघीयता असफल बनाउन केही तत्व लागिपरेका छन् ।” बाह्य शक्तिको चलखेलबाट संघीयतालाई जोगाउन निकै सचेत रहनु पर्ने उनको भनाइ थियो ।

महराले संघीय व्यवस्था मुलुककै पिच्छे फरक–फरक भएको बताए । नेपालको सन्दर्भमा आफ्नै मौलिकतामा आधारित नभएमा संघीयता कार्यान्वयनमा जटिलता आउन सक्ने बताउँदै उनले भने, “जनतामा आधारित नभएकै कारण विगतका शासन व्यवस्था टिक्न सकेनन् ।”
वर्तमान संघीयता कुनै पनि हालतमा खारेज हुन नसक्ने ठोकुवा गर्दै सभामुख महराले भने, “बरु परिमार्जन हुन्छ तर खारेज हुँदैन ।”
निर्यातभन्दा आयात बढी भएकै कारण मुलुकले आर्थिक वृद्धि दर हासिल गर्न नसकेको उनको भनाइ थियो । उनले केन्द्रको मुख ताक्नुभन्दा पनि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्दै बजारीकरण गर्नुपर्नेमा जोड दिए । “स्थानीय सरकारले मेलमिलापमै आधारित न्याय प्रणालीलाई जोड दिनुपर्छ,” उनले भने, “स्थानीय जनप्रतिनिधिले दण्ड जरिवाना तोक्ने परिपाटी छाडेर मेलमिलापको नीति अंगिकार गरेर न्याय सम्पादन गर्नुपर्छ ।”
प्रशासकीय अदालतका अध्यक्ष एवं कानुनविद् काशीराज दाहालले स्थानीय सरकारले जनताले बुझ्ने र जान्ने गरी सरल कानुन निर्माण गर्नुपर्ने बताए । उनले आफ्नो महत्वाकांक्षा अनुसार कानुन नबनाएर जनताको हितमा कानुन बनाउन जन प्रतिनिधिहरूलाई आग्रहसमेत गरे ।
कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदिपराज भण्डारी, उपसभामुख सरस्वती पोखरेल, प्रतिनिधिसभाका र प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सदस्य, जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख र सञ्चारकर्मीको सहभागिता थियो ।