कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
290

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “क्याबिनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ ।”
उनले अहिलेको अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनको निम्ति संविधाप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए । उनले थपे, “सरकारले अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ । यतिवेला सरकारको भूमिका हुनुपर्दथ्यो । त्यसले मात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं ।” नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले भने, “जनतामा जागरण ल्याउनुपर्छ भनेपनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाइयो भने त्यसले स्वयम् उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन ।”
राज्यले समस्याको समाधान वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्वारा गर्नुपर्ने उनको भनाइ छ । पौडेलले भने, “त्यसको लागि सरकारले अन्तिम र अधिकतम प्रयत्न गर्नुपर्छ । त्यो प्रयत्न गर्दागर्दै पनि राज्यले तोकेको विधि र प्रणालीविपरित एकपछि अर्को वार्ता तथा सहमति तोड्दै जाने काम भयो भने राज्यले त्यतिबेला आफ्नो स्टेप लिन सक्छ ।” उनले राज्यले नियन्त्रण गर्नै नसक्ने घटना अहिले नघटेको पनि जिकिर गरे । अझैपनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उनले बताए ।