रासस
सोमवार, चैत्र ११, २०७५
296

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको आधार वर्षका चालू आर्थिक वर्ष सफल भएको बताएका छन् । राष्ट्रियसभाको आइतबारकोे बैठकमा उनले तीन सरकार र तीन संसद्का बीचको अधिकारको बाँडफाँटको सहजताका साथ सम्पन्न भएको उल्लेख गरे ।
“जटिल र उल्झनयुक्त बन्न नदिई सहज तरिकाले तीन तहको शक्ति बाँडफाँट सम्पन्न भए । भ्रष्टाचार नियन्त्रण, अपराधी पत्ता लगाएर कारवाही, एकाध घटनामा अपराधी पत्ता नलागे पनि आम अपराधी पत्ता लागेका छन् । सुनकाण्डमा मात्र ४१ जनालाई कारवाही गरिएको छ,” उनले भने ।
अख्तियारका आयुक्त राजीनामा दिएर भाग्नुपरेको र वाइडबडीमा अख्तियारले छानविन गरिरहेकाले सकिएपछि हत्कडी लगाइने उनको प्रतिबद्धता छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्ना कुरा राखी उपलब्धि हासिल गरेको, नीतिगत स्पष्टता बढेको, विखण्डन समाप्त भएकाले भौगोलिक अखण्डता सुदृढ भई एकता कायम भएको र स्वतन्त्र मधेश गठबन्धन भनेकाहरु जनमत नाम राखी दल दर्ताको प्रक्रियामा अघि बढ्नु सकारात्मक भएको उनको भनाइ छ । देशको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताका बारेमा जनमत संग्र्रह हुन नसक्ने उनले स्पष्ट पारे । अरु विषयमा जनमत लिन सकिए पनि प्रतिगमनका लागि जनमत संग्र्रह नगरिने प्रधानमन्त्रीले बताए । “विप्लवलाई बम पड्काउन दिइने छैन, अमूर्त गिरोह बनाएर मान्छे मार्ने, चन्दा माग्ने, लुटपाट गर्ने, विद्युत् गृह, टेलिफोन टावरमा बम हान्ने, जन्तीको गाडीमा बम हान्नेलाई कारवाही हुन्छ, ब्याक गियर हुँदैन, हतियार बुझाउने समय दिएका छौँ, बुझाउनुपर्छ । नबुझाए नियन्त्रण हुन्छ,” उनले भने ।
प्रमुख प्रतिपक्षले उठाउने विषय नपाएर आपत् परेको जस्तो देखिएको उनले टिप्पणी गरे । प्रमुख प्रतिपक्षीको ध्यानाकर्षणले सरकारलाई सहयोग पुगेको प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्रीले भने, “वाइडबडीलगायत अरु भ्रष्टाचारको छानविन हुन्छ । सतर्क भएर सरकारले काम गरिरहेको छ ।”

सरकारको ध्यान विकास–निर्माणमा
प्रधानमन्त्री ओलीले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीव्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सरकारसँगका असहमति वार्ता र संवादबाट समाधान गर्न सरकार तत्पर रहेको बताए । उनले मुलुक जनताका अधिकार सुनिश्चित गर्ने गहन अभिभारा पूरा गर्न सरकार अविचलित भएर अगाडि बढेको बताए ।
चुनौतीको आधार तय गर्न र कानून निर्माणका दृष्टिले यो वर्ष ठूलो उपलब्धिको वर्षका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानअनुसार निर्वाचनपछि तीनै तहका सरकारको गठन भई संस्थागत भएको बताए ।
संविधान कार्यान्वयन, संरचना निर्माण, संरचनाको व्यवस्थापन सुसञ्चालन सहज नभएपनि सहज रुपमा पार गरेको बताउँदै उनले संविधानको भावी कार्यान्वयनका लागि नजिर निर्माण, कानून निर्माण मौलिक हकलगायत थिति प्रारम्भ गरेको उल्लेख गरे ।
छोटो अवधिमा नेपालले महिला सहभागिताका सम्बन्धमा उल्लेख्य उपलब्धी हासिल गरेको बताउँदै उनले विकसित र ठूला राष्ट्रभन्दा नेपाल अघि रहेको धारणा व्यक्त गरे । शैक्षिक क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त भएको बताउँदै प्रधानमन्त्री ओलीले दुई वर्ष भित्र निरक्षरता उन्मुलनका लागि धेरै काम गरिरहेका जानकारी गराए ।