कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५
305

गत पुस ११ गते प्रारम्भ भई आइतबारसम्म जम्मा ८९ दिन चालू रहेको संघीय संसद्को तेस्रो अधिवेशन अन्त्य भएको छ । यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकामा आठ विधेयकसभामा प्रस्तुत हुन बाँकी रहेका छन् ।
सात विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने दुईमाथि राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको सभामुख कृष्णबहादुर महराले जानकारी गराए । अन्य ६ विधेयक सघीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ । साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने दुई विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको र एक विधेयक राष्ट्रियसभामा विचाराधीन रहेको अवस्था छ ।

सभाको विभिन्न बैठकमा सडक दुर्घटना रोक्न कदम चाल्नुपर्नेसम्बन्धी र छाउपडीप्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावउपर छलफल भई सम्बन्धित मन्त्रीबाट जवाफ दिने कार्य सम्पन्न भएको थियो ।
गत माघ ४ गतेको बैठकमा प्रारम्भ भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिने कार्य भएको थियो । साथै सभाको विभिन्न बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट दिइएको थियो । त्यस्तै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भई सदनमा प्रस्तुत गर्न बाँकी रहेका मौखिक एवं लिखित उत्तरसमेत टेबुल भएका छन् ।
यसै अवधिमा सदनको विभिन्न बैठकमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनका बारेमा, गृहमन्त्रीले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताका विषयमा र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सम्बन्धमा सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।