कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५
430

प्रधान न्यायाधीश नियुक्तिको माग गर्दै दायर भएको अलग–अलग दुईवटा रिट सर्वोच्च अदालतले खारेज गरेको छ । निवेदक सन्तोष भण्डारी र लक्ष्मीप्रसाद पोखरेलले तत्काल प्रधान न्यायाधीश नियुक्तिको आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा अलग अलग रिट दायर गरेका थिए । सो रिटमा सुनुवाई गर्दै बिहिबार न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलाशले रिट खारेज गरेको हो ।
हाल सर्वोच्च अदालत कायममुकायम प्रधान न्यायाधीशकै भरमा चलिरहेको छ । सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलाउन नहुने भन्दै प्रधान न्यायाधीश नियुक्तिका लागि आदेश दिन माग गर्दै निवेदकहरु सर्वोच्च अदालत पुगेका थिए ।

जोशीले चैत १ गतेबाट कायममुकायम प्रधान न्यायाधीशको कार्यभार सम्हालेका थिए । उनीहरुले रिटमा सर्वोच्चको नेतृत्वजस्तो संवेदनशील पद रिक्त रहँदा संवैधानिक परिषद् बैठक नबसी संवैधानिक दायित्व पूरा नगरेको कारण देखाउँदै रिटमा अन्तरिम आदेश माग गरेका थिए ।
गोपाल पराजुलीले पदबाट राजीनामा दिएलगत्तै रिक्त भएको सो पदमा हालसम्म नियुक्ति हुन सकेको छैन । त्यसपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी न्यायाधीश दिपक जोशीले सम्हाल्दै
आएका छन् । संसदको नियमावली निर्माण नहुँदा संसदीय सुनुवाइ समिति बन्न नसकेको भन्दै सरकारले संवैधानिक परिषद्को बैठक नै राखेको छैन ।