मीनकुमार नवोदित
आइतवार, जेठ २७, २०७५
2855

विराटनगर- मुलुक सियोमा समेत परनिर्भरता भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै उठ्ने बित्तिकै विदेशी मन्जन र ब्रसले दाँत माझ्नुपर्दा आफुलाई दुःख लाग्ने गरेको बताएका छन् ।
विराटनगरमा शनिबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “हुँदाहुँदा हामी यति परनिर्भर भएछौं कि हामीसित मुखमा दल्ने पाउडरसमेत छैन ।” अहिलेसम्म कुनै पनि वस्तुमा आत्मनिर्भर हुन नसकेकोमा उनले दुःख व्यक्त गरे । “यतातिर त केही वस्तु उत्पादन हुन्छ होला तर काठमाडौंमा त केही उत्पादन भएको देखिँदैन,” उनले मञ्चमै रहेका मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा र उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायतिर हेर्दै भने, “काठमाडौंमा त युनिलिभर र पतञ्जलीका सामान किन्ने र बिक्री गर्नेको भीड देख्छु ।”
उनले उत्पादकत्व वृद्धि नभएसम्म मुलुकको व्यापार घाटा कम नहुने बताए । उत्पादन वृद्धि गर्ने र रोजगारीका प्रशस्त अवसर सिर्जना गर्ने उद्योगमा लगानी गर्न प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । लगानीका लागि समस्या केही भए आफू नेतृत्वको सरकार समाधान गर्न तयार रहेको प्रस्ट पारे । उनले बढी आयात निर्यात हुने भारत र चीनसँग समस्या भए आफूले सिधै प्रधानमन्त्रीलाई फोन गर्ने बताए । “लगानीका लागि के–के समस्या छन् म अर्थमन्त्रीलाई राखेर तत्काल रिजल्ट निस्कने गरी काम गर्छु,” उनको भनाइ थियो, “तर, यस प्रदेशका सम्बन्धित मन्त्रीलाई लिएर आउनुहोला ।” उनले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय आत्मनिर्भरतालाई ध्यानमा राखेर सरकारले काम गरिरहेको चर्चा गरे ।क

हामीले मन्द विष खाइरहेछौं
प्रधानमन्त्री ओलीले कलकत्ताको माछा स्वाद मानीमानी खाए पनि त्यसले भित्रभित्रै नेपालीलाई रोगी बनाइरहेको बताए । अझ केमिकलबाट बनाइएको लिची र आँपको जुसका कारण किड्नी ड्यामेजदेखि विभिन्न रोग लागिरहेको चर्चा गरे । “जुस बनाउने कम्पनीले लिची र आँपको बोक्रा र दाना त देखेको छैन होला अनि उसैले लिचीको जुस बनाएर हामीलाई पठाइरहेको छ,” प्रधानमन्त्री ओलीले थपे, “लिची र आँपको स्वादको केमिकल पानीमा हालेर हामीकहाँ पठाइरहेको छ । अनि हामी स्वाद मानेर मजाले पिउँछौं ।”

व्यापार सन्तुलन बिग्रेको भन्न मिल्दैन
ओलीले औद्योगिक उत्पादन वृद्धि नभएकै कारण भारतसँगको व्यापार सन्तुलन अत्यन्तै नकारात्मक अवस्थामा पुगेको बताए । नेपालको व्यापार सन्तुलन कायम गर्न निर्यातमूलक उद्योगमा आक्रमक लगानी आवश्यक रहेको बताए । “९३ रुपैयाँको सामान आयात गरेर ७ रुपैयाँको निर्यात गर्नुलाई व्यापार सन्तुलन भन्न मिल्दैन,” उनले भने, “यो अन्त्यन्तै असन्तुलन हो । यसलाई सन्तुलनमा ल्याउन सहयोग गर्नुहोस् ।”

ठेक्का होल्ड गर्नेलाई कारबाही
नेपालमा अहिलेसम्म कुनै पनि सडक स्तरीय नभएको बताउँदै ओलीले अब गुणस्तरहीन काम गर्नेलाई छुट नहुने चेतावनी दिए । अबको ५ वर्ष राम्रा र गुणस्तरीय सडक बनाउने उनले उद्घोष गरे । क्षमताभन्दा बढीको ठेक्का नलिन उनले निर्माण कम्पनीहरूलाई आग्रह समेत गरे । “म विनम्रतापूर्वक आग्रह गर्दछु, ठेक्का पार्ने नाममा घटाएर ठेक्का नलिनुहोस्,” उनले थपे, “बनाउनै नसक्ने गरी ठेक्का लिँदा गुणस्तर घट्ने गरेको छ ।” अब कुनै पनि बहानामा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको काम गरेको पाइए क्षम्य नहुने प्रस्ट्याए ।

अब सेटिङ चल्दैन
झण्डै एक घन्टा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले कर्मचारीतर्फ इङ्गित गर्र्दै योग्यता, क्षमता र कार्यकुशलताका आधारमा जिम्मेवारी दिने उल्लेख गरे । पहुँच र भनसुनका भरमा अब कर्मचारीको सरुवा नहुने उनको कथन थियो । “सेडिङ गरेर सरुवा हुने दिन अब गए,” ओलीले भने, “अब तलदेखि माथिसम्म योग्यता, क्षमता, कार्यकुशलता र इमान्दारिताका आधारमा जिम्मेवारी दिइन्छ ।” छेउमै रहेका मुख्यमन्त्री शेरधन राईतर्फ भुलुक्क हेर्दै ओलीले भने, “मलाई फलानै प्रहरी अफिसर चाहिन्छ भन्ने सोचलाई दिमागबाट हटाउनुहोस्,” उनले प्रश्न गरे, “रोजेकै प्रहरी अफिसर र कर्मचारी किन चाहियो ?”

देश अझै लोसेडिङमुक्त भएको छैन
प्रदेश–१ को प्रदेशसभालाई सम्बोधन गर्दै विराटनगर आएका प्रधानमन्त्री ओलीले सामान्य मात्रै लोडसेडिङ अन्त्य भएको बताए । केही ठूला उद्योग थपिने हो भने अझै लोडसेडिङ हुने उनको भनाइ थियो । विद्युतको मागअनुसार आपूर्तिको व्यवस्था मिलाइरहेको उनले बताए । मंसिरदेखि वैशाखभित्रमा माथिल्लो तामाकोशीको ४ सय मेगावाट विद्युत थपिएपछि मुलुक पूर्ण रुपमा लोडसेडिङमुक्त हुने उनको कथन थियो । ओलीले प्रदेश–१ को प्रदेशसभालाई पनि सम्बोधन गरे ।