कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५
352

विराटनगर-नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले अबको दशक आर्थिक समृद्धि र विकासको दशक हुने बताएका छन् ।
उद्योग संगठन मोरङको ४६ औं वार्षिक साधारणसभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अबको दशकलाई आर्थिक समृद्धिको दशक बनाउन सबैले साझा संकल्प गर्नुपर्नेमा जोड दिए । “मेरो जीवनको १० वर्ष अध्ययन गरेर नयाँ विचार बनाउनेमा खर्च गरें, १० वर्ष सशस्त्र द्वन्द्वमा बित्यो, त्यसपछिको १० वर्ष संविधान बनाउनमै खर्च भयो,” उनले भने, “अबको १० वर्ष विकास र समृद्धिको लागि खर्च गर्नेछु ।”
अब कुनै राजनीतिक शक्तिका विरुद्ध लड्नुपर्ने अवस्था नरहेकाले सबैको ध्यान मुलुकको आर्थिक समृद्धि र विकासतर्फ हुनुपर्ने उनको भनाइ थियो । दाहालले प्रमुख राजनीति शक्तिहरूको एकताका कारण नेपालमा ठूलाठूला परिवर्तन भएकाले राष्ट्रको आवश्यकताअनुुसार आर्थिक विकास र सुशासनका लागि दलहरूबीच एकता कायम हुनुपर्ने बताए । “विकास र जनताको जीवनस्तर माथि उठाउन पक्ष र विपक्ष नभई एकै ठाउँमा उभिने बेला आएको छ,” उनले थपे, “नयाँ संविधान आएसँगै सबै तहको निर्वाचन सम्पन्न भइसकेकाले अबको एकमात्र एजेन्डा विकास र समृद्धि भएको छ ।”
अध्यक्ष दाहालले अबको पाँच वर्षसम्म सरकार परिवर्तन नहुने दाबी गरे । “सरकार स्थिर नहुँदा जनताले धेरै नै दुःख पाए,” उनले भने, “अब त्यस्तो नहोस् भनेर दुईवटा कम्युनिष्ट जोखिम मोलेरै भए पनि एक भएका छौं ।” अबको पाँच वर्षभित्र विकास निर्माणको नयाँ इतिहास रच्न सरकार अघि बढ्नुपर्नेमा जोड दिए । दुई कम्युनिष्टबीचको एकताले नयाँ युगको सूत्रपात गरेको दाबी गर्दै भने, “वर्तमान सरकारले ५ वर्षसम्म राम्रो काम ग¥यो भने अर्को ५ वर्षका लागि फेरि जनताले अनुमोदन गर्छन् नत्र भने सत्ताको मैदान छाड्नुपर्छ । जनताको चाहनाभन्दा बाहिर कोही जान सक्दैन ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले जग्गाको चक्लाबन्दी गरेर कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण गर्नुपर्नेमा जोड दिए । “अब सानो–सानो क्षेत्रफलमा होइन जग्गालाई चक्लाबन्दी गरेर कृषि फार्म सञ्चालन गर्नुपर्छ,” प्रधानको भनाइ थियो, “कृषिले मात्रै आयातलाई प्रतिस्थापन गर्दै रोजगारीका प्रशस्त अवसर सिर्जना गर्छ ।”
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडालगायतका उद्योगीहरूले मुलुकको विकासका लागि दलहरूबीच साझा एजेन्डा हुनपर्नेमा जोड दिए । कार्यक्रममा मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सबैभन्दा बढी रोजगारी दिने अरिहन्त जुट मिलका सञ्चालक राजकुमार गोल्छासहित ७ जनालाई विशेष सम्मान गरिएको थियो ।