कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
598

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ महाधिवेशनमा नेतृत्व चयनका लागि चर्को धु्रविकरण देखिएको छ । मंगलबार सभापति शेरबहादुर देउवाले काठमाडौंमा महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्र सकिएसँगै नयाँ नेतृत्व हत्याउने कसरतमा कांग्रेसका विभिन्न समूह सक्रिय भएका छन् । सभापति देउवा निकट उम्मेदवारको विपक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले साझा उम्मेदवार खडा गरेका छन् ।
अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुष्कर आचार्य चुनावी मैदानमा देखिने भएका छन् । दाहाल सभापति देउवा निकट हुन् भने पौडेल समूह निकट आचार्यलाई सिटौला समूहले समेत समर्थन गर्ने भएको छ । दुवैले उम्मेदवारी घोषणा गर्दै आफूले जित्ने दाबी गरेका छन् ।

दाहालले ट्रेड युनियन कांग्रेसलाई बलियोे बनाउँदै आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न आफ्नो उम्मेदवारी भएको बताए । अर्का उम्मेदवार आचार्यले नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरलाई आर्थिक रूपले सबल र समुन्नत बनाउँदै पहुँच अभिवृद्धि गर्ने तथा समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताए ।
बुधबार बन्द सत्र सुरु हुने र बिहीबार मतदानको प्रक्रियामा प्रवेश हुने बताइएको छ । महाधिवेशनमा ४ सय प्रतिनिधि सहभागी छन् । यसअघि शिक्षक संघ, कर्मचारी संघ, इन्जिनियरिङ एसोसियसनमा पनि देउवा समूहविरुद्ध पौडेल र सिटौला समूह एक ठाउँमा देखिएका थिए । १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुनेछ । पौडेल समूह शिक्षक संघ, कर्मचारी संघ, इन्जिनियरिङ एसोसियसनमा जस्तै जित दोहोराउने योजनामा छ भने लगातर भातृ संस्थामा गुम्दै गएको प्रभाव फर्काउन सभापति देउवा समूह लागेको छ ।

नेतृत्वलाई मिल्न दबाब
उद्घाटन सत्रमा कांग्रेस युवा नेताहरुले शीर्ष नेतृत्वको आलोचना गर्दै सच्चिन दबाब दिएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सांसदसमेत रहेका अर्का केन्द्रीय सदस्य गगन थापाले नेतृत्वको कार्यशैलीमाथि प्रश्न गरेका थिए । देशमा कम्युनिष्टहरुको शक्ति बढिरहेको भन्दै उनीहरुले पार्टीलाई नयाँ ठाउँमा पुराउनुपर्नेमा जोड दिए ।
प्रवक्ता शर्माले फरक पृष्ठभूमिका केपी ओली र पुष्पकमल दाहाल मिलिसकेको भन्दै ५ दशकदेखि एउटै थालमा भात खाएका सभापति देउवा र वरिष्ठ नेता पौडेललाई मिल्न आग्रह गरे । “नेताहरुले विवाद गर्न पाउनुहुन्न भन्ने होइन । विवाद, झगडा बन्द कोठामा गर्नुस् । सार्वजनिक कार्यक्रममा उभिँदै गर्दा एकतावद्ध भएर उभिनुस्,” शर्माले भने । आफू देशका विभिन्न जिल्ला पुग्दा त्यहाँका कांग्रेसका कार्यकर्ताले सार्वजनिक मञ्चमा शिर्ष नेतृत्व एकतावद्ध भएको हेर्न चाहेको बताए ।
अर्का नेता थापाले कांग्रेसलाई अब नयाँ ठाउँमा पुराउनुपर्ने भन्दै त्यसका लागि पार्टी शिर्ष नेतृत्वसँग सहकार्य र संघर्ष सँगसँगैअघि बढ्ने बताए । यसअघि कांग्रेसले बहुमत पाउँदा पनि ३७ प्रतिशत मतमात्र पाएको भन्दै अब कांग्रेसलाई १ सय मतदातामा कम्तीमा ५० जनाले मत हाल्ने नयाँ स्थानमा पुराउनुपर्ने बताए । थापाले अहिलेको सरकारले संघीय लोकतन्त्रिक गणतन्त्रलाई घात गर्दैन भन्ने आधार नभएको भन्दै कांग्रेसलाई त्यस्तो अवस्थामा पनि लड्न सक्ने बलियो बनाउनुपर्नेमा जोड दिए ।