धर्मेन्द्र कर्ण
बुधवार, जेठ ३०, २०७५
586

राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुर प्रतिस्पर्धा गरी संसदीय दलको नेता नबन्ने भएका छन् । सर्वसम्मति गरी संसदीय दलको नेताको रूपमा ठाकुरलाई बनाउनुपर्ने माग पार्टीभित्र पनि उठिरहेको बताइएको छ ।
पार्टीमा ठाकुरको प्रतिस्पर्धी राजेन्द्र महतो छन् । महतो प्रतिस्पर्धी हुनुको कारण प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित सदस्यहरूको संख्या बढी रहेको पार्टी निकट स्रोतले जनाएको छ । महतोले संसदीय दलको नेता बन्न प्रतिस्पर्धाको बाटो रोजे ठाकुरले त्यो प्रतिस्पर्धामा भाग नलिने स्रोतको बुझाइ छ ।

संसदीय दलको नेता चयनमा ढिलाइ गर्नुको पछाडि पार्टीभित्रको आन्तरिक कारण पनि यो नै रहेको छ । महतो पार्टीभित्र आफ्नो राजनीतिक वर्चस्व चलाउन दाउपेच लगाइरहेको स्रोत बताउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखमा ठाकुरलाई प्रस्ताव गरेदेखि राजनीतिक सन्तुलन बनाउन महतो सक्रिय रहेका छन् । तर, त्यो सम्भव नदेखिएपछि असार ४ गते बस्ने बैठकबाट संसदीय दलको नियमावलीलाई अन्तिम रूप दिन राजनीतिक समितिका नेताहरू सक्रिय भएका छन् ।
सम्भव भए असार ४ गते नै संसदीय दलको नेताको बाटो खुलाउने नभए केही दिन लम्ब्याउने नीति पनि अगाडि बढाउन सकिने देखिएको छ । स्रोत भन्छ, “ठाकुरलाई सभामुख हुन नदिन संघीय समाजवादी फोरमका नेतालाई उचालिएको छ । सभामुख पनि आफूहरूलाई दिनुपर्ने माग अगाडि सार्न लगाइएको छ ।”
फोरमले गर्दा सभामुखको सम्भावना टरेर गएकाले अब ठाकुरलाई संसदीय दलको नेता बनाउन लबिङ गरिरहेका नेताहरू महतोलाई संसदीय दलको नेता बनाउने खोज्नेहरू भन्दा बलियो स्थितिमा पुगेका छन् । यसअघि चुनावअघि कतिपयले ठाकुरलाई राष्ट्रपति पदका लागि पहल गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरूले नै ठाकुरलाई सभामुख बनाउन खोजेको स्रोतको भनाइ छ ।
यसअघि जेठ २५ गते बसेको पार्टीको राजनीतिक समितिको बैठकबाट यस्ता विषयमा निर्णय हुन सकेको थिएन । अब यो असार ४ गतेसम्मका लागि सरेको छ ।
सरकारमा जाने राजनीति बलियो भएर आए भने पार्टीमा एक व्यक्ति एक पदको नारालाई अगाडि सार्ने काम हुने पार्टी स्रोतको भनाइ छ ।
पार्टीले सरकारमा जान नहुने किसिमका अभिव्यक्ति दिने प्रदेश सभा सांसद तथा पार्टीका महासचिव मनिष सुमनलाई सचेत गराएको छ । सुमनले केही दिनअघि प्रदेश नम्बर २ को सरकारबाट हट्ने निर्णय जेठ २५ गतेको राजनीतिक समितिको बैठकबाट गरिने अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पार्टीले प्रदेश नम्बर २ मा सरकारलाई समर्थन कायम रहने निर्णय गरेको थियो । राजनीतिक समितिको बैठक असार ४ गतेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले बताए ।
उनले भने, “पार्टीको महाधिवेशन, संसदीय दलको नियमावली र पार्टीको पूर्णाकारको विधान पारित गर्ने काम राजनीतिक समितिको बैठकबाट हुनेछ ।”