कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
862

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका राजेन्द्र महतोका निकटहरूले संसदीय दलको नेतामा अघि सर्न दबाब दिएका छन् । यसका लागि पार्टीमा एक व्यक्ति एक पदको नीतिलाई अगाडि बढाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने वातावरण मिलाउन महतोलाई पहल लिन उनका निकटहरूले आग्रह गरिरहेका छन् ।
संघीय समाजवादी फोरमसँग एकता गर्ने कुरालाई महतो पक्षीय नेताहरूले जोडदार ढंगले उठाउँदै आएका छन् । संघीय समाजवादी फोरममा पनि राजपासँग पार्टी एकीकरण गर्नुपर्ने आवाज उठिरहेको छ । फोरम र राजपा दुवैले समान विचार र एजेन्डा मिल्ने पार्टीसँग एकीकरण गर्ने निर्णय गरिसकेका छन् ।
पार्टीका महासचिव रामसहाय यादवले पार्टीले समान विचार र एजेन्डासँग पार्टी एकीकरण गर्ने निर्णय पहिले नै भइसकेको बताए । तर राजपासँगको एकीकरणबारे तत्काल गतिविधि सुस्त देखिएको छ ।
राजपाका उपाध्यक्ष सत्यनारायण मण्डलले पनि समान विचार र एजेन्डा मिल्नेसँग पार्टीले एकीकरण गर्ने निर्णय भइसकेको बताए । फोरमसँग एकीकरण भए र त्यतिखेर ठाकुर नै संसदीय दलको नेता र पार्टीको नेता भए महतो पक्षधरलाई राजनीतिक हैसियत उकास्न समस्या हुने देखेर उनलाई संसदीय दलको नेतामा दाबी गर्न दबाब दिन थालिएको महतो निकट नेताले जनाए ।
ती नेताले भारतको नाम नलिई भने, “दक्षिण अहिले अरू नेताको भन्दा महतोको दाहिने भएको छ । त्यसैले उनलाई यस्तो दबाब दक्षिणबाट आउन सक्ने देखिनछ ।”
ती नेताका अनुसार राजपाका अन्य नेताहरूको सम्बन्ध भारतसँग नभएको होइन तर हाल केही बढी महतो नजिकिएका हुन् । भारतका लागि तुलनात्मक रूपमा ठाकुर महतो भन्दा बढी अडान राख्ने नेतामा परेकाले पार्टीको समग्र लगाम ठाकुरको हातमा नपुगोस् भन्ने चाहना उतातिरको पनि हुन सक्ने उनले जनाए ।
ठाकुर पक्षका नेतालाई पनि संसदीय दलको नेता बन्न दबाब नदिएको भने होइन तर उनले सर्वसम्मतिमा आफूलाई संसदीय दलको नेता माने जाने नेताहरूलाई भनिसकेका छन् । संसदीय दलको नेताका लागि चुनाव लडेर नजाने भनिसकेकाले महतोलाई उनका निकटकाहरूले त्यसमा पहल लिन दबाब दिइरहेका छन् ।
पार्टीले संसदीय दलको नेताको चुनाव, पार्टीको पूर्ण आकारको विधान र पार्टीका महाधिवेशनलगायत विषयमा असार ४ गते बस्ने राजनीतिक समितिको बैठकबाट निर्णय गरिने भएको छ ।
फोरमसँगको एकता प्रक्रिया अगाडि बढ्न सक्ने सम्भावना बाँकी भएकाले महाधिवेशनको विषयमा गम्भीर निर्णय गर्नुपर्ने आवाज पार्टीभित्र उठिरहेको छ ।
महाधिवेश कहिलेसम्म गर्नु हुन्छ भनि सोधिएको प्रश्नको जवाफमा पार्टी उपाध्यक्ष मण्डलले भने, “निर्वाचन आयोगको पत्रबारे जति हाउगुजी देखिएको छ, त्यस्तो भने छैन । हामीले पार्टी दर्ता गरेका बेला एक वर्षभित्र गर्ने भनेकाले निर्वाचन आयोगले महाधिवेशन कहिलेसम्म गर्ने भनेर ध्यानाकर्षण पत्र पठाएको हो । हामीले अधिकतम ५ वर्षभित्र गर्न सक्ने सिफारिसपत्रसहितको आग्रह आयोगलाइ गर्यौं भने हामीले समय पाउन सक्छौं ।”