कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
571

प्रधानमन्त्री केपी शर्मा ओली ४ जना मन्त्रीहरुसहित असार ५ गते चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा ओली ६ दिने राजकीय भ्रमणमा जान लागेका हुन् ।
उनीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ रहनेछन् । त्यस्तै भ्रमणटोलीमा ओली पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी तिब्बतको राजधानी ल्हासा समेत जाने कार्यक्रम रहेको छ । त्यहाँ प्रान्तीय नेताहरुसँग भेट गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा राष्ट्रपति सी जिङपिङ, प्रधानमन्त्री ली खछ्याङसहितका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै चीनमा रहँदा प्रधानमन्त्री ओलीले बेइजिङमा हुने नेपाल चीन बिजनेस फोरम र विद्वत समूहको फोरममा समेत सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा केही महत्वपूर्ण सम्झौता हुने भएपनि सम्झौताका बारेमा भने केही बताइएको छैन ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली असार १० गते भ्रमण सकेर स्वदेश फर्किने छ ।