कारोबार संवाददाता
सोमवार, असार ४, २०७५
435

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन् । रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले यसअघिको प्रधानमन्त्रीत्व कालमा वर्तमान प्रधानमन्त्री ओलीले चीनसँग गरेको १० बुँदे सम्झौतालाई अब ठोस रुपमा कार्यान्वयन गर्ने बेला आएको सुनाए ।

उनले भने, “यसपटकको उहाँको भ्रमणमा ती १० बुँदे सम्झौतासहित थप सम्झौता हुनसक्ने बुझिएको छ ।” उनले रसुवागढी हुँदै नेपाल र चीन जोड्ने रेल निर्माणको सहमतिलाई ठोस रुपमा कार्यान्वयन गर्ने पहल पनि यो पटकको भ्रमणमा हुने विश्वास दिलाए । उनले भने, “अहिलेसम्म आएको जानकारी अनुसार वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री हुनु भएको बेलामा १० बुँदे सहमति भएका थिए, ती १० विषयहरुका साथसाथै अरु थप विषयहरुमा पनि सहमति तथा सम्झौता हुने कुरा जानकारीमा आएको छ । प्रधानमन्त्रीको यो भ्रमणसँगै रेल निर्माण सहमतिले गति लिन्छ ।”
यसअघि चीनसँग भएको १० बुँदे सहमतिहरुमा सबैभन्दा महत्वपूर्ण, उल्लेखनीय र दिर्घकालिन चरित्रको विषयहरुमा नेपालले चिनियाँ भूमि भएर पारवाहन सुविधाको उपभोग गर्न पाउने कुरा रहेको उनले बताए ।