तत्काल राहत र उद्धारमा जुट्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५
174

नेपाली कांग्रेसले देशभर गइरहेको बाढी र पहिरोको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दैै खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।
त्यस्तै, कांग्रेसले बाढीपहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसालगायत भौतिक पूर्वाधारहरूको यथाशीघ्र पुनःनिर्माणमा ध्यान दिन आग्रह गरेको छ । “प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल सञ्चालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरू— खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
बाढी पहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरूले पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पुर्याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसहरूलाई स्थानान्तरण गराउने कार्यमा जुट्नका लागि पनि नेपाली कांग्रेसले निर्देश गरेको छ ।
केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लाहरूमा करिब डेढ दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । विज्ञप्तिमा बाढी र पहिरोका कारण केही व्यक्ति घाइते र बेपत्ता तथा दर्जनौं विस्थापित भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।