कारोबार संवाददाता
बुधवार, असार २०, २०७५
497

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शोषक सामन्तको पक्षमा उभिएको आरोप लगाएकी छन् । गरिबको पक्षमा माग राखेर १४ पटकसम्म अनसन बस्दै आएका डा. गोविन्द केसीको मागलाई सम्बोधन नगरेर सरकार शोषक सामन्तको पक्षमा उभिएको उनले बताइन् ।
मंगलबार काठमाडौंमा आयोजित नागरिक समाजका अगुवाहरूको भेलामा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई मोडेर सरकारले शोषक व्यापारीहरूको पक्ष लिएको बताएकी हुन् । उनले गरिबको पक्षमा उभिएका डा गोविन्द केसीको माग तत्काल सम्बोधन नगरे गरिब झनै मारमा पर्ने अवस्था आउने बताइन् ।

यस्तै, छोराको हत्यारालाई कारबाही गर्न माग राख्दै आमरण अनसन बसेकी गंगामायालाई न्याय दिलाउने अभियानमा जुट्न पनि उनले सबैलाई आह्वान गरिन् । आजसम्म सरकारले गंगामायाको माग सम्बोधन नगर्नु दुखद पक्ष भएको उल्लेख गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले गंगामाया अधिकारीलाई न्याय दिन नागरिक समाज नै उठनुपर्ने बेला आएको पनि बताइन् । उनले नागरिकले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार हनन् हुने गरी सरकारले काठमाडौंको विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेकोमा पनि आपत्ति जनाएकी थिइन् ।
यस्तै, उक्त कार्र्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले मुलुकको दूरदराजमा समेत मेडिकल शिक्षा पुर्याउने उद्देश्यका साथ तयार पारिएको माथेमा प्रतिवेदनलाई अन्यत्रै मोड्ने काम सरकारले गरेकोमा आपत्ति जनाए । सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गरिब जनताको पक्षमा नरहेको उनको दाबी छ ।