कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५
464

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरू पहिलेका राजा तथा महाराजाजस्तो भएको आरोप लगाएका छन् । उनले भने, “सरकारको गतिविधि हेर्दा शासन पञ्चायतीजस्तो र शासकहरू राजा र महाराजाजस्ता देखिन्छन्, यो ठीक छैन । सरकारका गतिविधिहरू हुकुमी शैलीका आदेशमा चलेका छन्, कानुनमा होइन, गफ बढी दिने देखियो ।”
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले सरकारका गतिविधिहरू कारण लोकतान्त्रिक मूल्य र मान्यताहरू कमजोर बनेको आरोप लगाए । लेखकले भने, “यसले मुलुकलाई ठिक ठाउँमा पुर्याउँदैन । पत्रकारले मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यक्रम बन्द गरियो । नागरिकले अहिले विरोध गर्न पाउने अवस्था छैन, निषेधित क्षेत्र तोकिएका छन् । यस्तै हो भने अब कुन दिन सरकारको विरोध त बेडरुमबाट मात्रै गर्न पाउने निषेधाज्ञा जारी हुन बेर छैन ।”

जुम्लामा अनशनरत डा. गोविन्द केसीप्रति पनि सरकार अनुदार बनेको उनको आरोप छ । उनले भने, “उहाँको स्वास्थ्य अवस्था बिग्रँदो छ, उहाँको स्वास्थ्य चेकजाँच गर्न जान लागेका चिकित्किहरूलाई समेत स्थानीय प्रशासनले रोक लगाएको भन्ने कुरा आएको छ, त्यो धेरै गलत छ ।”
केसीका मागहरू जायज रहेको उल्लेख गर्दै माथेमा आयोगको प्रतिवेदनलाई टेकेर आएको अध्यादेशलाई कुनैपनि हालतमा तलमाथि वा तोडमोड गर्न नमिल्ने लेखकको जिकिर छ । उनले भने, “सरकारले अहिले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकले अध्यादेशको मूल मर्म नै समाप्त पारेको छ । यो विधेयक त केही सीमित मानिसहरूलाई मात्रै लाभ पुर्याउनेगरी आएको छ ।”
अध्यादेशको भावना विपरित आउन लागेको विधेयकप्रति आफूहरूको गम्भिर आपत्ति रहेको पनि उनले जनाए । त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीप्रति सरकारले गरेको व्यवहार पनि राम्रो नरहेको गुनासो पोखे ।