‘प्राज्ञिक क्षेत्रकै अपमान भयो’
कारोबार संवाददाता
सोमवार, असार २५, २०७५
124

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको आरोप लगाएका छन् ।
क्यानडाको भ्यानकुभर सहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कोइरालाले यस्तो आरोप लगाएका हुन् ।
उनले वर्तमान सरकार सर्वसत्तावादको चंगुलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्दत रहेको समेत आरोप लगाए । त्यसैगरी उनले कम्युनिष्टले संस्कार र संस्कृति मास्न लागेको आरोपसमेत लगाए ।
उनले आफूलाई छापामार शैलीमा कार्यक्रममा भाग लिन जानबाट वञ्चित गरेको गुनासो पोखे । उनले भने, “क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ, प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाइएन ।”
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हुँदा पनि आफू क्यानडामा हुन लागेकैजस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले भने, “चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ, त्यही प्रक्रिया र नियम अहिलेपनि पालना गरेको थिएँ । मैले एक साताअघि नै यसबारेमा सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ, तर त्यस विषयमा कुनै जानकारी नगराईकन मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधीलाईजस्तो पक्राउ गरियो । यो खेदजनक छ, यो अपमान मप्रतिमात्रै नभएर सिँगो प्राज्ञिक जगतमाथिको अपमान हो ।”
उनले अघि थपे, “यो पटक मैले विधि र प्रकिया अपनाएर बिदाको निवेदन दिएको हो, शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ, तर किन रोकियो ? मेरो बिदाको निवेदनको फाइल किन लुकाइयो ?” उनले उक्त घटनालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै अन्तर्राष्ट्रिय फोरममा समेत यो विषयले नेपालको बेइज्जती भएको दाबी गरे ।
प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्पणी गर्दै कोइरालाले भने, “म त एक प्रतिनिधि पात्रमात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो । मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिँगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन् ।”
यो घटनाले उक्त सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपाल सरकारको नकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ । उनले भने, “म क्यानडामा पिकनिकको लागि जान खोजेको थिइनँ, हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ ।”
हवल्दारी पाराले विश्वविद्यालय नचल्ने दाबी गर्दै उनले विश्वविद्यायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई आग्रह गरे ।


सरकार निरंकुश देखिन थाल्यो : पाण्डे


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालालाई सरकारले विमानस्थलबाटै  नियन्त्रणमा लिएको घटनाको चर्को विरोध गरेको छ । राष्ट्रिय सभा बैठकमा आइतबार कांग्रेसका सांसद बद्री पाण्डेले सरकार निरंकुश देखिन थालेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । “निरंकुश शैलीमा उपकुलपति कोइरालालाई नियन्त्रणमा लिई क्यानडा जानबाट किन रोक लगाइयो ? जवाफ चाहियो,” उनले भने । सांसद पाण्डेले सरकारले उनलाई धरपकडको शैलीमा नियन्त्रणमा लिई क्यानडा जानबाट रोक लगाउनु आपत्तिजनक रहेको बताए । पाण्डेले सो घटनाबारे सरकारसँग जवाफ माग गरे । क्यानडा जान हिँडेका कोइरालालाई विमानस्थलबाट
प्रधानमन्त्री निवास बालुवाटारमा लगेर एक घन्टा नियन्त्रणमा राखिएको थियो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सरकारको अनुदारवादी चरित्र देखिएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सरकारसँग यसबारे जवाफ मागेका छन् । शर्माले उपकुलपति पक्राउको घटनाले नेपालको अन्तराष्ट्रिय छविमा समेत असर परेको आरोप लगाएका छन् । हेल्लो सरकार र पिएम नेपाललाई मेन्सन गर्दै उनले लेखेका छन्,“उपकुलपति पक्राउको घटनाले सरकारको अनुदार चरीत्रमात्रै प्रष्ट्याएको छैन,अन्तर्राष्ट्रिय मञ्चमा देशको छविलाई समेत असर गरेको छ । जवाफ चाहियो !”उनले प्रश्न गर्दै भनेका छन्, “विश्व संस्कृत सम्मेलनमा नेपालको नेतृत्व गर्न उपकुलपति अयोग्य ? कुनै अपराधमा संलग्न कि कमरेड मोनोपोलिको आवेग ?”


अनुमति नलिई जान लागेकोले रोकियो : गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापाले उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले कुलपति वा सरकारसँग अनुमति नलिई क्यानडा जान लागेकोले एयरपोर्टबाटैरोकिएको बताएका छन् ।
“कुनै पनि कार्यक्रमका निम्ति वा भ्रमणका लागि विदेश जाँदा सरकारको अनुमति लिएर जानुपर्ने भन्ने छ,” राष्ट्रिय सभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले भने, “तर उपकुलपति कोइरालाले कुलपतिको अनुमतिनलिई क्यानडा जान लागेकोले रोकिएको भन्ने गृह मन्त्रालयलाई अपुष्ट खबर आएको छ ।”