राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत हुँदै
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५
361

राष्ट्रिय जनता पार्टी (राजपा) ले संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेता चुन्ने भएको छ । सोमबार बसेको संसदीय दलको बैठकले आउदो शनिबार संसदीय दलको नेताको चुनाव गर्ने निर्णय गरेको छ ।
राजनीतिक समितिको बैठकबाट ठाकुरको नेतृत्वमा पार्टीलाई अगाडि बढाउने निर्णय गरेपछि ठाकुरलाई नै संसदीय दलको नेतामा चुन्ने काम हुने पार्टीका नेताहरूले बताएका छन् । अध्यक्ष मण्डलका नेता र राजनीतिक समितिका नेताहरूले सर्वसम्मतिमा संसदीय दलको नेताको चयन गर्न प्रयास गरिरहेको पार्टी निकट नेताहरूको भनाइ छ ।
ठाकुरले सर्वसम्मत भएमात्र संसदीय दलको नेता बन्ने बताइरहेकाले त्यसको प्रयास भइरहेको नेताहरूले जनाएका छन् । नेताहरूका अनुसार चुनावमा जाँदा पनि ठाकुर नै जित्ने स्थिति रहे पनि ठाकुर सर्वसम्मति गराउन खोजिरहेका छन् ।
अध्यक्ष मण्डलका ६ सदस्यहरूमा ४ र २ को अल्पमत र बहुमतको अवस्था रहेको छ । ठाकुरलाई आफू बाहेक ३ समूहको समर्थन पार्टीमा रहेकाले पार्टी नेता राजेन्द्र महतोले अन्ततः ठाकुरलाई समर्थन गर्ने स्रोतको भनाइ छ ।
संसदीय दलको नेताको चुनावको मिति तोक्दै सोमबारको बैठकले पारित गरेको संसदीय दलको नियमावलीलाई अनुमोदनका लागि पार्टीमा पठाएको छ ।
पार्टी नेताहरूले मंगलबार त्यसलाई अनुमोदन गर्ने पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए । संसदीय दलको नेताको चुनाव भएपछि नेताले प्रमुख सचेतक र सचेतक नियुक्त गर्ने लालले जनाए ।
संसदीय दलको नेताको चुनावमा भएको ढिलाइका कारण राजपाको चौतर्फी आलोचना सहनुपरेको छ । पार्टीको राजनीतिक समितिको बैठकमा आएका विभिन्न प्रस्तावहरूबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।
विधान परिमार्जन समितिले विधानको खाकालाई अन्तिम रूप दिन क्रियाशील रहेको छ । महाधिवेशनका लागि प्रतिनिधिहरूको छनोट पनि विवादमा छ । यसबारे पार्टी नेतृत्वबीच छलफल भइरहेको छ ।
यसैबीच, राजपाले अस्थायी र करार शिक्षकहरूको जागिरको ग्यारन्टी गर्न सरकारसँग माग गरेको छ । राजधानीको खुलामञ्चमा आमरण अनसनमा बसेका अस्थायी करार शिक्षकहरूप्रति चासो व्यक्त गर्दै राजपाले यो माग गरेको हो । राजपाले एक विज्ञप्ति जारी गरी यस्तो जनाएको छ । पार्टीले विज्ञप्तिमा भनेको छ, “२०७५ असार २१ गते देखि काठमाडौँको खुल्लामञ्चमा आमरण अनसनरत अस्थायी, करार शिक्षकहरु वर्षौदेखि सरकारको स्विकृत दरबन्दीमा कार्यरत छन् । उनीहरुसँग सरकारले गरेको सहमति विपरित वर्तमानमा चालेको कदम अन्यायपूर्ण छ ।”
साथै पार्टीले अस्थायी, करारमा कार्यरत शिक्षकहरुको वृति विकास, जीविकोपार्जन र जागिरको ग्यारेन्टी एवं अनसनरत शिक्षकहरुको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।