कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
502

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् । काठमाडौंमा मंगलबार सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको विचार गोष्ठिमा महामन्त्री कोइरालाले कांग्रेस आफ्नै कारण कमजोर भएको बताएका हुन् ।

पार्टीभित्र आन्तरिक एकता भए कम्युनिष्टलाई परास्त गर्न सकिने भन्दै उनले अहिले पार्टीभित्र आन्तरिक एकता पहिलो आवश्यकता भएको बताए । आफू सधैँ गुटबन्दी अन्त्य गर्दै एकताबद्ध कांग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको उनले बताए । कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुमा दुई ठूला कम्युनिष्ट मिल्नु मुख्य कारण नभएको उनको भनाइ थियो । “हामीलाई कम्युनिष्टले हराएको होइन । हामी आफैंभित्रको गुटबन्दीका कारण हारेका हौं,” कार्यक्रममा महामन्त्री कोइरालाले भने, “हामीहरु पार्टीभित्र मिल्ने हो भने कसैले कांग्रेसलाई हराउन सक्दैन ।” उनले पार्टीभित्र मौलाउँदो गुटबन्दी अन्त्यका लागि लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए ।

त्यस्तै, कार्यक्रममा केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले दुई तिहाईको दम्भ देखाइरहेको बताए । अहिलेको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै उनीहरुले कांग्रेसलाई त्यसको प्रतिवाद गर्न सक्ने गरि सशक्त बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्धारित मितिभित्रै संघको १२औं महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताए । उपाध्यक्ष उर्मिला थपलियाले अहिले कांग्रेस गुटबन्दीका कारण थला परेको भन्दै त्यसबाट पार्टीलाई मुक्त गर्न महामन्त्री कोइरालालाई अघि बढ्न आग्रह गरिन् ।