कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५
377

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङ विकास र समृद्धिको बाटोमा हिँडेको भन्दै त्यो अनुसारको काम सुरु भएको बताएका छन् । दाङ जिल्लाको दोस्रो सभालाई बिहीबार घोराहीमा उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले भने, “दाङ बनाउन फराकिलो सोच राखेर काम सुरु भएको छ ।” मुख्यमन्त्री पोख्रेलले जिल्लामा फोर लेन सडक, खोलाहरुमा पुल, कोइलाबास नाका जोड्ने सडक कालोपत्रे, दामोदर मार्ग, हवाई मार्ग, सुर्खेत सडक खण्ड, राप्ती राजमार्ग र सिँचाइलगायतका क्षेत्रमा काम भैराखेकोले अब दाङलाई विकास र समृद्धिमा अगाडि बढाउन सहज भएको बताए ।
उनले ठाउँको लगाव देखाएर विकास रोक्ने काम राम्रो नभएको भन्दै त्यो नगर्न आग्रह समेत गरे । “जिल्लामा ठाउँको लगाव देखाएर विकास रोक्ने प्रयासको खेल देखा पर्ने गरेको छ । यसले विकासमा जिल्लालाई पछि धकेल्ने गर्छ,” उनले भने । उनले योजना र विकास गर्दा दुरदृष्टि विचार राख्नुपर्ने भएकाले अब दाङ बनाउन फराकिलो सोच बनाउन पर्ने समेत बताए ।

उनले कृषि क्षेत्रको विकासको लागि प्रत्येक स्थानीय तहमा मोडेल एग्रीकल्चर ठाउँको विकास गरिने समेत बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले जिल्लाको समग्रको विकासको लागि सबै एक बन्नुपर्ने बताइन् । “राजनीतिक विचारमा अलग भए पनि समग्र विकासको लागि एक हुनुपर्छ,” देवकोटाले भनिन् । प्रदेश सभाका सांसदहरु रेवतीरमण शर्मा, उत्तर कुमार वली, सरस्वती गौतम र दामाकुमारी शर्माले संघीय, प्रदेश र स्थानीय सरकारको समनयात्मक भूमिका निर्वाह गर्न र विकास र प्राकृतिक सम्पदाका क्षेत्रमा प्रभावकारी अनुगमन गर्ने जिल्ला समन्वय समितिलाई सुझाव दिएका थिए ।