कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५
213

नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनको कार्ययोजना १० दिनभित्र पेश गर्न निर्देशन दिएको छ । नेता प्रकाश शरण महतको संयोजकत्वमा गठन गरिएको समितिले अध्यक्ष नैनसिंह महरलाई आगामी भदौ २ गतेभित्र कार्ययोजना पेश गर्न बुधबार निर्देशन दिएको हो ।
अध्यक्ष महरले २ गतेसम्म अधिबेशनको कार्ययोजना पेश गरे कार्यसमितिको म्याद तीन महिना थपिने भएको छ । नेविसंघको २०७३ साउन २३ गते ११औं महाधिवेशन भएको थियो । तर, भदौ २ गते पदबहाली भएको थियो । सोही दिनलाई आधिकारिक मानेर समितिले अधिवेशनको कार्ययोजना पेश गर्न भनेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ३ महिनामा महाधिवेशन सम्पन्न गरिसक्ने कार्ययोजना भदौ २ गतेभित्र पेश गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय समितीलाई निर्देशन दिइएको बताए । नेविसंघको विधानमा यसको कार्यकाल २ वर्ष हुने तोकिएको छ । विशेष अवस्थामा बढीमा दुईबर्ष पूरा भएपछि केन्द्रीय समितिलाई ३ महिना समयावधि थप गर्न सकिने बैधानिक प्रावधान छ । “गौरवशाली संघका सक्षम नेता कार्यकर्ताले आजको चुनौती चिर्न एकताबद्द ढंगले आफूलाई अग्रसर तुल्याउन सक्नुहुनेछ भन्ने विश्वास लिएका छौं,” प्रवक्ता शर्माले भने ।