कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
600

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को हेडक्वार्टर धुम्बाराहीमा रहने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीको हेडक्वार्टर तत्कालिन नेकपा एमालेको केन्द्रीय कार्यालयमा रहने निर्णय गरेको हो ।
जनवर्गीय संगठन र केन्द्रीय विभागका केन्द्रीय कार्यालय भने तत्कालिन माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिने भएको छ । यसअघि दुवै ठाउँमा केन्द्रीय कार्यालय रहने बताइएको थियो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले प्रादेशिक सांसद र सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय गरेको छ । बैठकले प्रदेश र जिल्ला तहका पार्टी संरचना एकीकरण गर्न गठित कार्यदलको समयावधि साउन मसान्तसम्मलाई थप गरेको छ । कार्यदलले समयसीमाभित्र कार्य सम्पादन गर्न नभ्याएकाले समय थप गरिएको श्रेष्ठले जानकारी दिए । विधान र नियमावलीलाई थप व्यवस्थित ढंगले संगठन सञ्चालन गर्नका विनियम निर्माणका लागि कार्यदल निर्माण गर्ने भएको छ । कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल रहेका छन् । भदौ ७ र ८ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय समेत गरेको छ । टोलीले सेप्टेम्बर १२ देखि १९ सम्म हुने चीन भ्रमण गर्नेछ ।