कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५
559

काठमाडौं-लगानीकर्ताहरूले ब्रोकर कमिसन कम गर्नुपर्नेे, मार्जिन ट्रेडिङ छिटो सुरुवात गर्नुपर्ने, एनआरएनलाई पुँजीबजारमा भित्र्याउन पहल गर्नुपर्ने, प्रदेशहरूमा ब्रोकर सेवा विस्तार गर्नुपर्ने, बैंकलाई ब्रोकरलाई सेन्स दिनुपर्ने, अनलाइनको मोक कारोबार प्रणालीमा भएका त्रुटिहरू सच्याउनलगायत सुझाव दिएका छन् ।
नेपाल धितोपत्र बोर्डको समन्वय र अग्रसरतामा धितोपत्र बजार नियमन निकायहरूको अन्तर्राष्ट्रिय संगठनको आह्वान अनुरूप तथा बोर्डको चालू आवको कार्यक्रमबमोजिम बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०१८ को अवसरमा बुधबार आयोजित कार्यक्रममा लगानीकर्ताहरूले उक्त सुझाव राखेका हुन् ।

यसै अवसरमा बुधबार बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बोर्ड र तथा सिडिएस एण्ड क्लियरिङको परिमार्जित वेबसाईटको शुभारम्भ पनि गरे । उक्त अवसरमा बोर्डका अध्यक्ष डा. कार्कीले बोर्डले नेपालको धितोपत्र बजारको प्रकृति र प्रवृत्तिका साथै हालैका वर्षहरूमा धितोपत्र निष्कासन र कारोबार पद्धतिमा भएका सुधारहरूलाई समेटेर तयार पारेका तीनवटा प्रकाशनहरू विमोचन गरेका थिए । यस्तै, नेप्से, सिडिएस एण्ड क्लियरिङ स्टक ब्रोकर एसोसियएनअफ नेपाल, इक्रा नेपाल र केयर रेटिङस नेपालको आ–आफ्नो सेवासम्बन्धी जानकारीहरू समावेश गरी तयार पारेका विभिन्न प्रकाशनहरू उक्त अवसरमा विमोचित भएका थिए ।
बोर्डका अध्यक्ष डा. कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक कृष्णराज पोखरेल, सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, नेपाल स्टक एक्सचेञ्जका कामु प्रवन्धक निरञ्जन फुयाँल तथा इक्रा नेपालका रेटिङ विभाग प्रमुख किशोरप्रसाद विमलीले प्रशिक्षण प्रदान गरेका थिए ।
सो अवसरमा बोर्डका अध्यक्ष डा. कार्कीले प्रादेशिक प्रोफाइलका रूपमा तयार पारिएको आर्थिक, बैंकिङ तथा पुँजीबजारसम्बन्धी प्रादेशिक परिसूचक शुक्रबार विराटनगरमा सुरु हुने प्रथम प्रादेशिक पुँजीबजार प्रदर्शनी–२०७५ मा सार्वजनिक गरिने जानकारीसमेत गराए ।
साथै, बोर्डले लगानीकर्तासँगको पहिलो त्रैमासिक अन्तक्र्रिया कार्यक्रमसमेत सञ्चालन गरेको थियो । विभिन्न लगानीकर्ता संघ–संस्थाका पदाधिकारी, प्रतिनिधि तथा अन्य सर्वसाधारण लगानीकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा लगानीकर्ताहरूले बोर्डसँग आफ्ना समस्या तथा समाधानका उपयहरू छलफल गरेका थिए ।