कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
526

 स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पौने ७ अर्ब बराबरको सेयर आवेदन परेको छ ।
१५ कात्तिकदेखि बिहीबारसम्म सर्वसाधारणका लागि सेयर खुला गरेकोमा ६ अर्ब ७० करोड ८२ लाख ८० हजार रुपैयाँबराबरको ३ लाख ४६ हजार १ सय ६६ कित्ता सेयर परेको हो । आवश्यकभन्दा चार गुणा बढी सेयर आवेदन परेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाका अनुसार १ करोड ५८ लाख ८५ हजार कित्ता बराबरको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि जारी गरिएको थियो । आयोजनामा ५० कित्तादेखि बढीमा एक हजारसम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको थियो । दोलखालीका लागि स्थानीय सेयरका साथै तामाकोसीले बिमा संस्थानका कर्मचारी, विद्युत् प्राधिकरणका कर्मचारी, नागरिक लगानीकोष र सञ्चयकोषमा रकम जम्मा गरिसकेको छ ।
दोलखालीले १ अर्ब ५ करोड ९० लाख रुपैयाँबराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर पाईसकेका छन् । यसअघि आयोजनाले फागुन २०७४ मै तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बिमा संस्थानका कर्मचारी, विद्युत् प्राधिकरणका कर्मचारी, नागरिक लगानीकोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि सेयर वितरण गरिसकेको छ । २ लाख ८२ हजार दोलखालीमध्ये झन्डै ९८ प्रतिशतल १ करोड ५ लाख ९० हजार कित्ता सेयर पाएका छन् । २ लाख ७६ हजार १९४ आवेदकबाट ३ करोड ७७ लाख ७ हजार ९० कित्ता अर्थात् ३ अर्ब ७७ करोड बराबरको माग परेको थियो ।