दिलबहादुर केसी
सोमवार, पुष २, २०७५
865

दोलखा-के तपाईंको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीमा हालेर नपरेको सेयर वापतको पैसा पाउनुभएको छैन ? यदि छैन भने अब चिन्ता लिनु पर्दैन । सेयरमा नपरेको पैसाको चेक सेयर संकलन केन्द्र (बैंक)मा आइसकेको छ । आइतबारबाट संकलन केन्द्रहरूले खातामा पैसा फिर्ता नजानेहरूको चेक वितरण सुरु गरेको छ ।
माथिल्लो तामाकोसी हाइड्रोपावरले विभिन्न समस्याका कारण सिधै बैंक खातामा रकम नपाउने आवेदकलाई चेकबाट रकम फिर्ता दिन थालेको हो । यसका लागि दोलखाबाट आवेदन दिएका आवेदकलाई आवेदन दिएकै बैंक तथा वित्तीय संस्थामा गएर चेक मार्फत रकम फिर्ता लिन सकिने र काठमाडौंबाट आवेदन दिनेले सनराईज क्यापिटल मार्फत भुक्तानी लिनुपर्नेछ ।

यसअघि स्थानीयबासीलाई निस्काशन गरेको साधारण सेयर बाँडफाँडमा नपरेको रकम बिक्री प्रबन्धकले अन्तरबैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै आवेदकको खातामा पठाइसकेको छ । विविध समस्याका कारण बैंक खातामा फिर्ता नभएको रकम चेकमार्फत् भुक्तानी थालिएको सनराइज क्यापिटलले जनाएको छ । अघिल्लो शुक्रबार नै माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आफैंले चेकहरू सम्बन्धित संकलन केन्द्रमा पु-याइसकेको छ ।
आयोजना प्रभावित स्थानीयका लागि कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि साउन १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो । माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बैंक खातामा पैसा नपाउनेहरूले सेयर संकलन केन्द्रमा पुगेर चेक लिएर साट्नसमेत आग्रह गरे ।
२ लाख ७६ हजार १ सय ९४ आवेदकमध्ये ५२ हजार स्थानीयको खातामा रकमान्तर नभएपछि आवेदन खुला गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आवेदन दिँदा नाम नमिलेका, खाता नम्बर नमिलेका तथा रोक्का भएका, ग्राहक परिचयपत्र विवरण नबुझाएका र ६ महिनाभन्दा बढी समय कारोबार नगरेका कारण रकम फिर्ता नभएका स्थानीयले आवेदन भर्नुपर्नेछ ।
सेयर आवेदकको खातामा डाटा रुजु गरेर रकमान्तर गर्दा समेत पैसा फिर्ता हुन नसकेपछि सेयर भर्न दरखास्त बुझाएकै केन्द्रमा आवेदन दिन कम्पनीले आग्रह गरेको छ । राजधानीबाट आवेदन दिने दोलखालीको हकमा भने चेकमार्फत रकम फिर्ता गरिने कम्पनीले जनाएको छ । सेयरमा नपरेको पैसा फिर्ताका लागि गाउँगाउँदेखि बैंकमा आएर रित्तो हात फर्कदै आएका छन् । उनीहरूले बैंक कर्मचारीलाई आक्रोस पोख्दै फर्कदै आएका थिए ।
अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाएका थिए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका थिए । यस्तै ‘ख’ वर्गका ३० कित्ता माग गर्नेले ३० कित्ता, ४० माग गर्नेले ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका थिए । ‘ग’ वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र सोभन्दा माथी आवेदन गर्नेले ३४ कित्ता पाएका थिए । एक महिना अघि आवेदन गरेका सर्वसाधारणको पनि सेयर बाँडफाँड गरेर सेयरमा नपरेको पैसा आफ्नो खातामा फिर्ता भइसकेको छ ।