कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५
710

नेपाल धितोपत्र बोर्डले सी–आस्बा प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको छ । धितोपत्रको सार्वजनिक निष्कासनमा सी–आस्बा प्रणालीमा कनेक्टिभिटी जाने समस्या देखिएपछि त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको हो ।
बोर्डले सी–आस्बा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको कनेक्टिभिटी क्षमता वृद्धि गरी सहज रूपमा सी–आस्बा सेवा सुचारु रहने संयन्त्रको विकास गर्न सीडीएससीलाई निर्देशन दिएको छ ।
यसैगरी बोर्डले धितोपत्रको सार्वजनिक निष्कासनको आवेदन भर्दा लगानीकर्तालाई रियल टाइम जानकारी दिने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । त्यसरी आवेदन दिँदा ग्राहकको खातामा रहेको रकम तत्काल रोक्का हुने व्यवस्थासहित आवेदनको सुनिश्चितताका बारेमा सेवाग्राहीलाई तत्कालै जानकारी गराउने व्यवस्था गर्न दिर्नेशन दिएको हो ।
साथै सी–आस्बा प्रदायक बैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्ने÷गराउनसमेत सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।
धितोपत्रको सार्वजनिक निस्कासनमा सी–आस्बा प्रणाली लागू गरिएकोमा लगानीकर्ता एवं आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयरमा समय समयमा कनेन्टिभिटी जाने तथा सिष्टम ह्याङ हुने जस्ता समस्याले सेवा प्रभावकारी नभएको गुनासो गरेपछि बोर्डले सो सेवा प्रभावकारी बनाउन निर्देशनहरु जारी गरेको हो ।
यस्तै, सी–आस्बा प्रदायक बैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्ने तथा गराउन लगाउन पनि बोर्डले निर्देशन दिएको छ ।