कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५
829

सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार ४ अंक भन्दा धेरैले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधबार पनि सोही गतिमा घटेको हो ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेयर बजारका सम्बन्धान खासै सम्बोधन नभएपछि सेयर लगानीकर्ता निराश भएका हुन् । सेयर बजारको सम्बन्धमा अर्थमन्त्री सकारात्मक नभएको विश्लेषणमा सेयर लगानीकर्ताले धितोपत्र बजारको विकल्प खोज्न थालेको देखिन्छ । सेयर लगानीकर्ताले अब आगामी जेठ १५ गते आउने आर्थिक वर्ष ०७५/७६ को बाजेटलाई पर्खेका छन् । बजेटमा पनि सेयर बजारका लागि सम्बोधन नभएको खण्डमा सेयर बजारका लगानीकर्ता बाहिरने जोखिम उत्तिकै छ ।

बुधबार कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १३३२.८२ अंकमा रहेको नेप्से परिसूचक ४.५५ अंकले घटेर १३२८.२७ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि एक अंकभन्दा धेरैले घटेको छ ।
बुधबार कारोबार भएका अधिकांस कम्पनीको सेयर मूल्य घटेको छ । साथै नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक पनि घटेका छन । नेप्सेमा कारोबार भएकामध्ये बैंकिङ ६.१२, विकास बैंक ५.५८, बिमा २६.५७, वित्त २.६९, उत्पादनमूलक १४.५८, होटल ५.०४, र जलविद्युत् समूह २.९१ अंकले घटेका छन् । तर, बुधबार अन्य २.३२ र माइक्रोफाइनान्स समूह ५.५७ अंकले बढेका छन् ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा १६१ कम्पनीको ३ हजार ६ सय ७२ कारोबारबाट २९ करोड ९६ लाख रुपैयाँबराबरको ६ लाख ९३ हजार ७ सय ३० कित्ता सेयर खरिद बिक्री भएको छ ।