लाभकर विवादले सेयर बजार ठप्प
भुवन पौडेल
बुधवार, जेठ २३, २०७५
540

बुधबार पनि कारोबार रोकिने सम्भावना प्रबल 


हकप्रद र बोनस सेयरमा अंकित मूल्यलाइ आधार मूल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोबार नै ठप्प पारेका छन् । आन्तरिक राजस्व विभागले आइतबार यस्तो व्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्वारा सहमति खोज्ने प्रयास गरेका थिए । तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोबार नै ठप्प भएको हो ।
सार्वजनिक बिदाबाहेक नियमित कारोबार हुँदै आएको सेयर बजार यसरी बन्द भएको यो दोस्रोपटक हो । यसअघि गत असारमा धितोपत्र दलाल कम्पनीले सेयर खरिदबिक्री आदेश नै नलिएपछि कारोबार हुन सकेको थिएन । सरकारले धितोपत्र बजारको मनोविज्ञानविपरीत कर लगाउने निर्णय गरेको भन्दै लगानीकर्ता आन्दोलित भएका हुन् । लगानीकर्ता घाटामा भएको अवस्थामा पनि पुँजीगत लाभकर तिर्नुपर्ने अवस्था देखिएपछि आन्दोलित लगानीकर्ता बुधबार के गर्ने भन्ने निर्णयमा नपुगे पनि कारोबार नहुने प्रबल सम्भावना रहेको एक लगानीकर्ताले जानकारी दिए ।
मंगलबार नेप्सेमा सेयर कारोबार नभएका कारण सरकारलाई करिब ८० लाख रुपैयाँ बरावरको नोक्सानी भएको छ । पछिल्ला दिनहरूमा नेप्सेमा औसत ५० करोड रुपैयाँ बरावरको सेयर कारोबार हुने गरेको छ । त्यस हिसाबले पनि मंगलबार मात्र सरकारले ब्रोकर कमिसनबाट हुने टीडीएसबापतको ६ लाख ६० हजार रुपैयाँ गुमाएको छ । त्यसैगरी पुँजीगत लाभकरको सन्दर्भमा पनि सरकारले मंगलबारमात्र ७० लाख भन्दा धेरै गुमाएको छ । गतवर्ष सेयर बजारवाट सरकारलाइ पुँजीगत लाभकर मात्र १ अर्ब ६२ कराड रुपैयाँ उठेको थियो । एक वर्षमा नेप्सेमा औसतमा २ सय ३० दिन कारोबार हुन्छ । त्यस हिसावले पनि सरकारले पुँजी बजारबाट एक दिनमा ७० लाख रुपैयाँभन्दा धेरै लाभकर पाउँछ ।
आगामी आर्थिक वर्षको बजेटले धितोपत्र दलालको कमिसनमा मूल्य अभिवृद्धि कर खारेज गरेको छ । तर, व्यक्तिगत लगानीकर्तालाई भने लाभकरको भार बढाइएको छ । सेयर बजारमा कारोबार नै नभएपछि अर्थ मन्त्रालयले मंगलबार लाभकरसम्बन्धी अध्ययनका लागि सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा १५ दिनमा सुझाव सहितको प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गरेको छ । तर, सरकारले झारा टार्ने काम गरेको भन्दै लगानीकर्ता भने झनै अक्रोसित भएका छन् । सेयर लगानीकर्ताका संघ संगठनहरूले भने बुधबार पनि आन्दोलन जारी रहने जनाएका छन् । आगामी दिनका आन्दोलनका कार्यक्रम झनै सशक्त हुने उल्लेख गर्दै सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारानाथ फुलेलले भने, “सरकारले झारा टार्ने काम ग¥यो ।” लाभकर लगाउने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।
अर्थका सहसचिव खत्रीले भने निर्धारित समयभित्रै सरकारलाई सुझाव दिने बताएका छन् । “लगानीकर्ताले के गर्छन् भन्ने कुरा थाहा भएन, सरकारले आफ्नो तर्फवाट यस विषयको समाधानका लागि कार्यदल गठन गरेको छ,” खत्रीले भने, “कार्यदलले १५ दिनभित्रै सुझावसहितको प्रतिवेदन सरकारलाई दिन्छ ।” कार्यदलमा अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन विभाग, आन्तरिक राजस्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज(नेप्से), सीडीएस एण्ड क्लियरिङका प्रतिनिधि सदस्य छन् भने आमन्त्रित सदस्यको रुपमा लगानीकर्तासहित सेयर बजार विज्ञ रहने खत्रीले बताए ।
पुँजीबजारमा वढेको पछिल्लो विवादको सन्दर्भमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन छ । सेयर बजारका कारोबार नै ठप्प हुँदासमेत बोर्ड मौन रहनु सेयर लगानीकर्ताका लागि सकारात्मक भने नभएको लगानीकर्ता बताउँछन् ।

अन्तर्राष्ट्रिय मान्यताविपरीतः चेम्बर
नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजस्व विभागले बोनस सेयर तथा हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई आधार बनाइ लाभकर असुल गर्न व्यवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो व्यवस्था करसम्बन्धी स्थापित सर्वमान्य सिद्धान्त र अन्तर्राष्ट्रिय प्रचलन तथा मूल्य मान्यताविपरीत भएको भन्दै उक्त व्यवस्था अबिलम्ब खारेज गर्न चेम्बरले माग गरेको छ ।