कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
1085

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच ५६ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको छ ।
प्रतिसेयर अंकित तथा चुक्तामूल्य एक सय कायम भएको सो साधारण सेयर सूचीकरण गर्ने सम्झौता कम्पनी र एक्सचेन्बीच भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआईबीएलएस क्यापिटल लिमिटेड लाजिम्पाटमार्फत आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि ५ लाख ६० हजार कित्ता सेयर खुला बिक्री आह्वान गरी ६ साउन २०७४ मा बाँडफाँट गरेको थियो भने ८ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि आह्वान भई ९ जेठ २०७५ मा बाँडफाँट भएको थियो । सर्वसाधारणमा वितरण गरिएको १४ लाख कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको ४२ लाख कित्तासमेत गरी जम्मा ५६ कित्ता सेयर वितरण भई एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको कम्पनीले जनाएको छ । सेयर सूचीकरण सम्झौतापत्रमा एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कम्पनीका सञ्चालक कुवेरमणि नेपालले हस्ताक्षर गरे ।
रैराङका अनुसार, सूचीकृत भएको सेयरमध्ये सर्वसाधारणका लागि छुट्याइएको ८ लाख ४ हजार कित्ता सेयर सम्झौताको सात दिनपछि कारोवार गर्न योग्य हुनेछ भने संस्थापक सेयर तथा संरक्षित सेयरहरू धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ बमोजिम ३ वर्षका लागि धितोपत्र बजारबाट खरिद बिक्री गर्न नमिल्ने व्यवस्था छ । यस कम्पनीको सेयर रजिष्टारको रूपमा कार्य गर्न भिवोर क्यापिटल लिमिटेडसँग सम्झौता भएको र सेयरसम्बन्धी कारोबार सोही क्यापिटलमार्फत हुनेछ । धादिङमा पाँच किलोवाट क्षमताको रैराङ आयोजना निर्माण गरेको कम्पनीले हाल पाँचथर र ताप्लेजुङमा ९.९ मेगावाटको इवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।