कारोबार संवाददाता
बुधवार, असार १३, २०७५
2375

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्ब ६४ करोड बराबरको सेयर निष्काशन गरेको छ । बहुप्रतीक्षित आयोजनाको सेयर संकलनका लागि मंगलबार आह्वानपत्र प्रकाशित गरेको हो ।
दोलखावासीलाई सेयर निष्कासनपछि र साधारण सेयर (आईपीओ) निष्कासन भएको हो । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि पहिलो चरणमा आयोजना प्रभावित (दोलखावासी) का लागि आउँदो असार २४ गतेदेखि साउन ९ गतेसम्मको मिति तोकेको छ । स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि सेयर संकलनका लागि सूचनामार्फत जानकारी गराउने उल्लेख छ ।
दोलखावासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर भएको छ । आयोजनाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । धितोपत्र बोर्डले गत जेठ ३ गते आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो । स्थानीयबाट तोकिएको सेयरमा पनि आवेदन नपुगेमा बाँकी सेयरसमेत थप गरेर आमसर्वसाधारणलाई बिक्री गर्ने कम्पनीको योजना छ ।
स्थानीय सेयर पाउने
२०७१ सालमा जिल्ला विकास समितिले गरेको सर्वेक्षणअनुसार दोलखाको कुल जनसंख्या २ लाख ८२ हजार १२५ छ । जसमा अतिप्रभावित ‘क’ वर्गमा ४ हजार ४३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९९९ र जिल्लाको बाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६९४ रहेको छ । आयोजनाको २०७५ जेठ मसान्तसम्म ९६ प्रतिशत काम पूरा भएको छ ।
दोलखावासीमध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालिका र विवाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा सेयर पाउँछन् । अन्यको हकमा दोलखा जिल्लावासी भएको नागरिकता प्रमाणपत्र अनिवार्य चाहिन्छ । तर जिल्लाबाहिर बिहे गरेर गएका चेलीहरूले पनि सेयर पाउन वञ्चित हुने सेयर दिने प्रयोजनका जिविस दोलखाले ३ वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५८४ छ । जिल्ला विकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा ऋण लगानी सम्झौता मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।
क, ख, वर्गलाई बढी सेयरको आक्षरण गरिएको छ । तर खरिद प्रक्रियामा सबैले न्यूनतम ३ हजारको ३० कित्तादेखि बढीमा ३० हजारको ३ सय कित्तासम्म खरिद गर्न सक्नेछन् । सेयर खरिदका लागि जन्मेदेखि सबै दोलखाली सहभागी हुन सक्नेछन् । आयोजनाले आर्थिक वर्षको मसान्त र मध्ये वर्षामा सेयर खोलेकाले स्थानीयवासीलाई भने केही असहज भएको छ । कम्पनी सचिव रामसुन्दर श्रेष्ठले साउन ९ गतेसम्म धेरैको आवेदन नपरेमा ३५ दिनसम्म लम्ब्याउन सकिने जानकारी दिए ।
यसअघि नै कर्मचारी संचयकर्ता, नेपाल विद्युत् प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी, ऋण लगानी गर्ने कर्मचारीका लागि २ अर्ब ५४ करोड बराबरको सेयर जारी गरिसकेको छ । कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दूरसञ्चार प्राधिकरण र राष्ट्रिय बिमा संस्थानबाट करिब २० अर्ब रकम ऋण लिएको छ । सर्वसाधारण र स्थानीयको सेयर संकलन नहुँदा नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण थप गरेर ठेकेदारलाई भुक्तानी दिँदै आएको छ ।
आयोजनाको सुरु लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको निर्माण अवधि, अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्यलगायतका कारण अहिलेसम्म करिब ४० अर्ब खर्च भइसकेको छ । आयोजना पूरा हुँदासम्म ४९ अर्ब खर्च हुने प्रक्षेपण गरिएको छ । बढ्दो व्याजदर र विनिमय दरका कारण कम्पनीको दायित्व बढेकाले लागत बढेको आयोजनाले जनाएको छ ।
आयोजना आउँदो २०७५ असारबाट पहिलो युनिन उत्पादन गरी २०१८ डिसेम्बरबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखेको छ । तर हाइड्रोमेकानिकलको ठेकेदार कम्पनीको ढिलासुस्तीले अपेक्षित लक्ष्य हासिल गर्न ठेस पुग्ने हो कि भन्ने आशंका पैदा भएको छ । हाइड्रोमेकानिकल अन्तर्गत पेनस्टक पाइप, बाँध र डिस्यान्डरका गेटको काम पर्दछ ।
डिम्याट खाता ऐच्छिक
अपर तामाकोसीका लागि दोलखावासीले लगानी गर्नका लागि डिम्याट खाता ऐच्छिक हुने भएको छ । धितोपत्र ऐन २०७३ ले धितोपत्र खरिदमा सबैलाई डिम्याट खाता अनिवार्य गरे तापनि तामाकोसीको सेयरमा धेरैलाई सहभागी गराउन यस्तो व्यवस्था गरेको हो । सेयर आवेदन फाराममा डिम्याट खाता नं. र बैंक खाता नं. उल्लेख गर्ने व्यवस्था गरेको छ । माथिल्लो तामाकोसीको स्थानीय सेयर लगानीकर्ता सबैलाई पुरानै प्रणालीअनुसार प्रमाणपत्र वितरण हुने कम्पनी सचिव श्रेष्ठले जानकारी दिए ।
-दिलबहादुर केसी