तामाकोसी सेयर आवेदनमा नयाँ मिति
कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५
601

 माथिल्लो तामाकोसी आयोजना प्रभावितका लागि निर्धारण गरिएको मिति सरेको छ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको स्थानीयका लागि १० प्रतिशत सेयर अब आउँदो साउन १६ गतेदेखि भदौ १४ गतेसम्म संकलन हुनेछ ।
यसअघि जारी भएको आव्हान पत्रअनुसार यही असार २४ गतेदेखि साउन ९ गतेसम्म सेयर संकलन गर्ने कार्यक्रम थियो । असार मसान्तमा किसानहरू खेतीमा व्यस्त हुनुपर्ने र स्थानीय जनप्रतिनिधिको मागका आधारमा सेयर संकलनको मिति सारेको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
स्थानीय सरकारको माग, राजनैतिक दलको समेत सुझाव र प्रदेश तथा प्रतिनिधिसभाको जनप्रतिनिधिको समेत सल्लाहलाई मध्यनजर गरेर सेयर संकलनको मिति सार्नु परेको उनले बताए । ३ दिनअघि दोलखा जिल्ला समन्वय समितिको आयोजनामा भएको बैठकले दोलखाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखसहितको बैठकले सेयर संकलनको मिति केही दिन पर सार्न माग गरेका थिए ।