मातृका दाहाल
बिहिवार, भदौ २८, २०७५
4817

काठमाडौं-प्रहरी प्रधान कार्यालयले निर्मला पन्त वलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउँन निलम्वित एसपी डिल्लीराज विष्ट तथा अरोपित अभियोगमा कारबाहीको माग गरिएका अन्य २ जनाको डीएनए परीक्षण सुरु गरेको छ ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती सहितको टोलीले निलम्वित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण सुरु गरेको हो ।

निर्मला पन्त वलात्कार र त्यसपछि भएको हत्यामा संलग्नलार्य कारबाहीको दायरामा ल्याउँन हामी प्रतिवद्ध छौं, यस विषयमा प्रहरी ज्यादै संवेदनशील भएर खटिएको पनि छ,” प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले कारोबारसँग भने, “आम रुपमा पनि निलम्वित प्रहरी अधिकृत र अन्य २ जनामाथी छानविन हुनुपर्ने माग उठेको अवस्थामा त्यसलाई सम्मान गर्दै डीएनए परीक्षण थालेका हौं ।”
डीएनए परीक्षणका लागि एसपी विष्टको व्लड जाँच प्रक्रिया थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
डीएनए परीक्षणका लागि प्रहरी अस्पताल, नेपाल प्रहरीकै विधि विज्ञान प्रयोगशाला र अन्य प्राविधिक टोली त्रिविका फरेन्सिक विज्ञ वस्तीसँगै खटिएका छन् । डेढ महिना अघि भएको निर्मला पन्त वलात्कार–हत्यामा संलग्न भनिएका अनिता बम र रोशनी बम, वलात्कारमा संलग्न मूख्य अभियुक्त भनिएका दिलिपसिंह विष्टलाई कञ्चनपुर जिल्ला अदालतको आदेशमा निर्दोष भन्दै रिहा भइसकेका छन् ।
अव घटनाको सत्यतथ्य पत्ता लगाउँन एसपी वष्टका छोरा र मेयर विष्टका भतिजामाथी अनुसन्धान गर्न प्रहरी सक्रिय भएको हो । घटनाको सत्यतथ्य पत्ता लगाउँन गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा भदौ ७ गते गठित समितिले अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय अन्तर्गतको उजुरी छानविन तथा निरीक्षणालयले पनि निर्मला वलात्कार र त्यसपछि भएको हत्याको अनुसन्धान गर्ने कञ्चनपुरका तत्कालिन डीएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरोका डीएसपी अंगुर जीसी र प्रहरी निरीक्षक एकेन्द्र खड्कामाथी छानविन गरिरहेको छ । अनुसन्धानमा गम्भीर लापरवाही भएको आशंकामा अनुसन्धान अधिकृतहरुमाथी छानविन भइरहेको महानिरीक्षकको सािवालयले पुष्टि गरेको छ ।