मातृका दाहाल
शुक्रवार, भदौ २९, २०७५
482

निर्मला पन्त बलात्कार–हत्या प्रकरण

प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा अरोपित अभियोगमा कारबाहीको माग गरिएका अन्य २ जनाको डीएनए परीक्षण सुरु गरेको छ ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ प्रा.डा. हरिहर वस्तीसहितको टोलीले निलम्वित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण सुरु गरेको हो । वस्तीको टीमले विष्टसहित तीनैजनााके डीएनए परीक्षणको नमुना संकलन गरेर प्रहरीलाई बुझाएका हुन् ।
“निर्मला पन्त बलात्कार र त्यसपछि भएको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन हामी प्रतिवद्ध छौं, यस विषयमा प्रहरी ज्यादै संवेदनशील भएर खटिएको पनि छ,” प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले कारोबारसँग भने, “आम रुपमा पनि निलम्बित प्रहरी अधिकृत र अन्य २ जनामाथि छानबिन हुनुपर्ने माग उठेको अवस्थामा त्यसलाई सम्मान गर्दै डीएनए परीक्षण थालेका हौं ।”
डीएनए परीक्षणका लागि एसपी विष्टको ब्लड जाँच प्रक्रिया थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डीएनए परीक्षणका लागि प्रहरी अस्पताल, नेपाल प्रहरीकै विधि विज्ञान प्रयोगशाला र अन्य प्राविधिक टोली त्रिविका फरेन्सिक विज्ञ वस्तीसँगै खटिएका छन् । डेढ महिनाअघि भएको निर्मला पन्त बलात्कार–हत्यामा संलग्न भनिएका अनिता बम र रोशनी बम, बलात्कारमा संलग्न मुख्य अभियुक्त भनिएका दिलिपसिंह विष्टलाई कञ्चनपुर जिल्ला अदालतको आदेशमा निर्दोष भन्दै रिहा भइसकेका छन् ।
अब घटनाको सत्यतथ्य पत्ता लगाउन एसपी सवष्टका छोरा र मेयर विष्टका भतिजामाथि अनुसन्धान गर्न प्रहरी सक्रिय भएको हो । घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा भदौ ७ गते गठित समितिले अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय अन्तर्गतको उजुरी छानविन तथा निरीक्षणालयले पनि निर्मला बलात्कार र त्यसपछि भएको हत्याको अनुसन्धान गर्ने कञ्चनपुरका तत्कालिन डीएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरोका डीएसपी अंगुर जीसी र प्रहरी निरीक्षक एकेन्द्र खड्कामाथि छानबिन गरिरहेको छ । अनुसन्धानमा गम्भीर लापरवाही भएको आशंकामा अनुसन्धान अधिकृतहरुमाथि छानबिन भइरहेको महानिरीक्षकको सािवालयले पुष्टि गरेको छ ।

संसदीय छानबिन समिति गठन गर्न माग
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गरे । बलात्कार र हत्या हिंसा गर्नेलाई कडाभन्दा कडा कारवाहीको दायरामा ल्याउन उनीहरुले सरकारको ध्यानाकर्षण गराउँदै यसका लागि प्रहरी संगठनभित्र नयाँ शाखा स्थापना गर्न सुझाव दिए ।
यसरी आफ्नो भनाइ राख्नुहुनेमा विन्दा पाण्डे, विमला विश्वकर्मा, विरोध खतिवडा, शेरबहादुर तामाङ, सरिताकुमारी गिरी, सरिता गिरी, सीतादेवी यादव, सुजाता कोइराला, सुजाता परियार, सञ्जयकुमार गौतम, ज्ञानकुमारी छन्त्याल, ज्ञानेन्द्रकुमार कार्कीलगायत थिए ।

प्रतिवेदन तयार हुँदैछ : मन्त्री ढकाल
यसैबीच, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सो जानकारी दिँदै उनले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजी कार्य पनि जारी रहेको बताए ।
मन्त्री ढकालले सदनको शुक्रबारको बैठकमा सम्बन्धित मन्त्रीले प्रमुख प्रतिपक्षी दलले उठान गरेको विषयमा सदनमा जवाफ दिने जानकारी गराए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

केहीबेर बैठक अवरुद्ध
बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रे्रेसले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक अवरुद्ध गरेको थियो । बैठक शुरु हुनेबित्तिकै कांग्रे्रेसका सांसद दिलेन्द्र बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी पन्तको हत्यारा र नगर अध्यक्ष पुनको हत्यारालाई कानुनको कठघरामा ल्याउन माग गर्दै के कारणले खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाइ पक्राउ गरिएको हो ? जवाफ दिन सरकारसँग माग गरे ।
उनले सरकारले ती विषयमा जवाफ नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने बताएपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठेका थिए ।
यसपछि सभामुख कृष्णबहादुर महराले बैठकमा सांसद बडूले उठान गरेको विषयमा सरकारको ध्यानाकर्षण गराए । सभामुख महराले प्रतिपक्षीदलका सांसदहरु आ–आफ्नो आसनबाट उठिरहेपछि बैठक दश मिनेटका लागि स्थगित गरेका थिए ।

‘राष्ट्रपतिले आफ्नै छोरी सम्झेर न्याय दिलाउनुपर्छ’
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु गृह जिल्ला नफर्किने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बुवा यज्ञराज पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढाएको गुनासो पोखे ।
उनले भने, “उहाँको अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढाउने काम भयो । तर, हजारौं छोरीहरुको मनोबल गिराउने काम भएको छ ।” यज्ञराजले आफूहरुले प्रधानमन्त्रीबाटै सौतेलो व्यवहार खेप्नुपरेको गुनासो पोखे । उनले न्याय पाउनको लागि नै आफूहरु अधिकारकर्मीसहित काठमाडौँ आइपुगेको स्पष्ट पारे ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले घटना भएको ५० औं दिन बितिसक्दा पनि वास्तविक हत्यारा पत्ता नलागेकोले आफूहरु न्याय माग्न काठमाडौं आएको स्पष्ट पारिन् । उनले भनिन्, “देशको अभिभावकजस्तो व्यक्तिहरु प्रधानमन्त्री, राष्ट्रपति काठमाडौंमै हुनुहुन्छ । उहाँहरुले हामीलाई जसरीपनि न्याय दिलाउनुपर्छ ।”
उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्मलालाई आफ्नै छोरी सम्झिएर न्याय दिलाउन आग्रह गरिन् । उनले भनिन्, “न्याय नपाए हामी कसरी घर फर्किने ? अहिलेसम्म जसरी झुलाइयो, त्यसैगरि हामीलाई घर नफर्काइयोस् ।” यदि सरकारले आफूहरुलाई न्याय दिन सक्दैन भने सक्दैनौं भनेर भन्नुपर्ने पनि उनले बताइन् । “हामीलाई पनि गोली ठोकेर मारिदिए हुन्छ । तर, हामी न्याय नपाएसम्म घर फर्कदैनौं,” उनले भनिन् ।