कारोबार संवाददाता
शनिवार, आश्विन २०, २०७५
1099

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियार विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । रौनियार सहित हालका अध्यक्ष उनका छोरा सुमित रौनियार, सडक डिभिजन कार्यलय, नेपालगंजका तत्कालीन डिभिजन प्रमुख भानु जोशी, निमित्त डिभिजन प्रमुख सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । रौनियार विरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ ।

संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
आयोगबाट अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगन्ज र पप्पु कन्स्ट्रक्सनबीच पुल निर्माणका लागि २०६८ असार २२ गते सम्झौता भएपछि बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यसरी भएको त्रुटिपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको, फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको समेत आरोपत्रपमा उल्लेख छ ।