कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५
1570

“जुवाडेका लागि मिटरब्याजमा लगानी गर्ने र जुवा खेलाउने स्थान उपलब्ध गराएबापत प्रत्येक दाउपिच्छै १० हजार रुपैयाँसम्म असुल्ने गरेको पाइयो,” काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द बोगटीले भने, “प्रहरीको आवतजावत कम हुने स्थानलाई जुवाको अखडा बनाउने गरेको पनि खुल्यो ।”

खालबाट भाग्दा २ जनाले ज्यान गुमाए, २४ पक्राउ

जुवा खेलाउन मिटरब्याजमा लगानी गरेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नु पर्दैन । काठमाडौंभित्र पेसेवर जुवाडेका लागि घण्टैपिच्छे ब्याज बढ्ने गरी रकम लगानी गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ ।
“जुवाडेका लागि मिटरब्याजमा लगानी गर्ने र जुवा खेलाउने स्थान उपलब्ध गराएबापत प्रत्येक दाउपिच्छै १० हजार रुपैयाँसम्म असुल्ने गरेको पाइयो,” काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द बोगटीले भने, “प्रहरीको आवतजावत कम हुने स्थानलाई जुवाको अखडा बनाउने गरेको पनि खुल्यो ।”

होटल-रेस्टुराँ सञ्चालक तथा जग्गा दलालीहरुले जुवाडेलाई कागज गराएर चर्को ब्याजमा रकम लगानी गर्ने गरेको डीएसपी बोगटीले बताए । जुवा खेल्दा पैसा अभाव भए जुवा खेलाउनेले नै कागज गरेर लगानी गर्ने गरेको उनको भनाइ छ ।
शुक्रबार रातिमात्रै प्रहरीले जुवाको खालमा छापा हान्ने क्रममा मूलपानीको एक घरबाट २४ जना पक्राउ परे । प्रहरी आएको थाहा पाएपछि भाग्ने क्रममा २ जनाको मृत्यु नै भयो ।
कागेश्वरी–मनहरा नगरपालिका–७ मूलपानी स्थित तेण्डु शेर्पाको घरमा सञ्चालित जुवा अखडामा छापा हान्ने क्रममा प्रहरीलाई छलेर भाग्दा काठमाडौं महांकालका ४३ वर्षीय सरोज घले र सिन्धुपाल्चोक (इन्द्रावती)का ३८ वर्षीय सोमलाल तामाङले ज्यान गुमाएका हुन् । मृतक घले यसअघि ३ पटकसम्म जुवा कसूरमै पक्राउ परेर छुटेका पटके अभियुक्त रहेको पनि खुलेको छ ।
“हामी गएर जुवा खेलाइएको घर घेरा हाल्यौं, घरको च्यानलगेट फुटाउन नै ३५ मिनेट लाग्यो,” डीएसपी बोगटीले भने, “त्यसक्रममा रक्सीले मातेका जुवाडे छतबाट भागाभाग गर्न थाले, नभाग्न भन्दाभन्दै २ जना हामफाल्दा भुइँमा टाउको बजारिएर ज्यान गुमाएका हुन् ।” घरको छतबाटै अर्को घरको छत हुँदै ३ युवतीसहित २० जना भन्दा बढी भागेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार जुवाडे महिला हुमा गुरुङलगायत ५ महिलाकै योजनामा जुवाको अखडा चलाइएको पनि खुलेको छ । २४ जनामध्येभित्रै पक्राउ परेकी शर्मिला खड्का पनि ३ पटकसम्म प्रहरीले पक्राउ गरेर मुद्दा चलाइएकी अभियुक्त रहेको खुलेको छ । उनी पेसेवर जुवाडे तथा जुवा खेल्न आउनेलाई मिटरब्याजमा लगानी गर्ने महिला रहेको पनि खुलेको छ ।
“पक्राउ परेका तेण्डु शेर्पाको श्रीमती र हिमा साथी हुन्, उनीहरुकै योजनामा जुवा खेलाइने गरेको पाइयो,” बोगटी भन्छन्,, “शुक्रबारको खालमा ५० लाखसम्म डिपोजिट राखेर जुवा खेल्ने गरेको सूचना थियो, तर घरको गेटमै ताला लगाएर माथि जुवा खेलाएका कारण ४० लाख भन्दा बढी पैसा लिएर केही जुवाडे फरार भए ।”
डीएसपी बोगटीका अनुसार शुक्रबार राति जुवा खालमा रहेका व्यक्ति नियन्त्रणमा लिने क्रममा घले र तामाङ झ्यालबाट हाम फालेर भाग्न खोजेका थिए । झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका दुवैजनाको वीएण्डवी अस्पताल (ग्वार्को)मा उपचारका क्रममा मृत्यु भएको हो ।
“जुवा खेलाइएको घरलाई घेरा हालेर सर्च एन्ड अपरेसन सञ्चालन गर्नेक्रममा घरको दोस्रो तलाबाट हामफाल्दा घाइते २ जनाको मृत्यु हुनुका साथै २४ जुवालेलाई विभिन्न दशीप्रमाण सहित पक्राउ गरिएको छ,” डीएसपी बोगटीले भने, “यस सम्वन्धि थप अनुुसन्धान कार्य भइरहेको छ ।” पक्राउ परेका विरुद्ध सार्वजनकि हित विरुद्धको सामाजिक अपराध कसूरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।