कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५
541

नेपालगन्ज-दाङबाट बाँकेको नेपालगन्जतर्फ आउँदै गरेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्वतर्र्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा शनिबार बिहान भएको सो सडक दुर्घटनामा परी १७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको उपचार कोहलपुरस्थित शिक्षण अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिकै हायस र ट्रक एकआपसमा ठोक्कीएर सो दुर्घटना भएको कोहलपुर प्रहरीले जनाएको छ ।
सडक किनारमा दुर्घटनाग्रस्त अवस्थामा पल्टिएको ट्रकलाई उछिन्ने क्रममा अर्को दिशाबाट आएको ट्रकले हायसलाई ठक्कर दिएको थियो । दुर्घटनामा हायसमा सवार करिब २५ जना यात्रुहरुमध्ये ४ जनाको घटनास्थलमै ज्यान गएको थियो भने २ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी मृत्यु भएका मध्ये दाङ तुल्सीपुर निवासी ३२ वर्षका तुल्सी रावत र सोही ठाउँ निवासी २६ वर्षकी बसन्ती चौधरीको सनाखत भएको छ भने अन्य ४ जनाको शनाखत हुन नसकेको बताइएको छ ।
दुर्घटनामा घाईते भएका १७ जनाको कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको छ । हायसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको जानकारी लिन बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र प्रहरी प्रमुख एसपी अरुण पौडेल कोहलपुरस्थित अस्पताल पुगेका थिए ।