कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५
240

सुदूरपश्चिम प्रशंसा संरक्षण समूहले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषी पत्ता लगाई कारबाहीको लागि सरकारसमक्ष जोडदार माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा समूहले अन्तरक्रिया आयोजना गरेर निर्मलाको निर्ममतापूर्वक हत्या गरिएको र जघन्य अपराधको सम्बन्धमा पीडित परिवारको सम्वेदनशीलताको समेत बेवास्ता गरिएको भन्दै आपत्ति जनाउँदै हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको हो ।
७५ दिनसम्म पनि दोषी पत्ता लाग्न नसकेको र पीडित पक्षले न्याय पाउन नसकेकोे भन्दै सुदूरपश्चिमका काठमाडौँबासीहरुको प्रतिनिधित्व गर्ने सामाजिक संस्थाहरु र नागरिक समाजहरुले संयुक्त रुपमा गम्भिर ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले चाँडोभन्दा चाँडो घटनाको छानबिन गर्दे दोषीलाई सार्वजनिक गर्नुपर्ने माग गरे । नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको हनन् भएको भन्दै उनले भने, “घटनाको प्रकृतिमाथि केही विसंगतिहरु देखिएका छन्, त्यो सत्य पनि हो तर प्रमाण मेटाउने काम पनि भएको हुँदा अपराधीले संरक्षण पाइरहेको छ ।”
निर्दोष मानिषहरुलाई अनाहकमा अपराधीको ट्याग लागेको बताउँदै उनले यो सामाजिक न्यायको मुद्दा भएका कारण यसमा कसैले राजनीति गर्न नहुने बताए । सरकारसँग न्याय माग्दा राजनीति हुन्छ भने कोसँग न्याय माग्ने भन्दै लेखकले प्रतिप्रश्न गरेका छन् । उनले घाइतेहरुको स्थिति अत्यन्त जटिल रहेको बताउँदै त्यतापतर्फ समेत सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “राज्यको कति सम्पति नोक्सान हुने खतरामा थियो र गोली चलाएर नागरिकले ज्यान गुमाउनुप¥यो, जिन्दगीभरिको पीडा बोकेर बाँच्नुपर्ने ?” उनले कांग्रेसलाईमात्र न्याय चाहिएको नभएर सबैले निर्मलाको लागि न्यायको माग गरिरहेको बताए ।
त्यस्तै कार्यक्रममा नेकपाका सांसद डा. दीपकप्रकाश भट्टले घटनाका बारेमा आफूहरुले संसददेखि सडकसम्म नै जानकारी गराइसकेको जनाए । पाँच महिनायता १७० बलात्कारका घटना घटिसकेको जनाउँदै उनले अपराधी जतिनै शक्तिशाली भएपनि राज्यले सार्वजनिक गर्नुपर्ने धारणा राखे ।
डिएनए टेस्टको रिपोर्ट नेगेटिभ आइसकेपछि वास्तविक अपराधी को हो ? भनेर सत्यतथ्य पत्ता लगाउनु राज्यको दायित्व भएको पनि उनले बताए । आजको भोलिनै पत्ता नलागे पनि अपराधी कानुनको कठघरामा आउनुपर्नेमा उनले जोड दिए ।
घटना घटेको यतिका दिन बितिसक्दा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु यो राज्यको लागि लाजमर्दाे विषय भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पञ्चायतको बेलाकोजस्तै लाश भेटिने तर अपराधी भेटिने आशा नरहेको बताए । उनले कनञ्चनपुरको घटनापछि पाँच महिनामा अन्य यस्ता धेरै घटनाहरु घटिसकेको जानकारी दिए ।
दुई तिहाईको बहुमतको सरकारमा दुई तिहाईकै दरले अपराधको घटना बढेको उनले आरोप लगाए । त्यस्तै अनेरास्ववियुका महासचिव ऐन महरले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न अपराधीलाई हदैैसम्मको कारवाहीको माग गरे ।
महिला अधिकारकर्मी शारदा चन्दले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा अनुुुसन्धानको लागि पक्ष र विपक्ष दुवैको उत्तिकै महत्वपूर्ण भूमिका रहेका बताइन् । उनले आफू प्रधानमन्त्री कार्यालयमा घटनाको बारेमा जानकारी गराउन जाँदा अपमानित भएको गुनासो पोखिन् ।

अनुसन्धान प्रतिवेदन सार्वजनिक
गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानबिन गर्न बनेको समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा समिति गठन भएको थियो ।
सार्वजनिक प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि प्रहरी अनुसन्धानमा उदासिन रहेको निष्कर्ष निकालिएको छ । प्रमाण संकलनमा पनि प्रहरीको लापरवाही भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।