कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५
631

दोलखा-बलात्कारजस्ता यौनहिंसाका घटना बढ्न थालेपछि दोलखा प्रहरीले विद्यालयहरुमा ‘फाइट ब्याक’ अभियानको सञ्चालन गरेको छ । दोलखा प्रहरीले बालिका तथा किशोरी यौनहिंसाका सिकार हुन थालेपछि असोज ६ गतेदेखि १५ दिने यस्तो अभियान सञ्चालन गरेको थियो ।
पहिलो चरणको अभियान शनिबार अर्थात् असोज २० गते पूरा हुने भएपनि गाउँगाउँबाट व्यापक माग बढेपछि यसको अवधी केही दिन थप गर्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए । पहिलो चरणको अन्तिम कार्यक्रम भीमेश्वर नगरपालिका वडा नं. ३ को भीमेश्वर बहिरा विद्यालयमा शनिबार सञ्चालन गरेको छ ।
सार्वजनिक स्थान, स्कुल, कलेजलगायतका १३ स्थानमा उक्त अभियान सकिएको छ । अधिकांश विद्यालय र सार्वजनिक स्थानमा गराइने अभियानमा डिएसी पाठकसहितका अधिकृतस्तरका प्रहरीहरु नै सहभागी भएका छन् । अभियानमा ९ वर्षदेखि १६ वर्षसम्मका बालिकाहरु सहभागी गराइएको उनले जानकारी दिए ।

के हो फाइट ब्याक ?
स्कुल, कलेजमा पुगेर प्रहरीले भन्छन्, ‘यो कुनै पनि यौन दुराचार हुन लागे प्रतिरक्षा गर्ने उपाय हो । कसैले यौन हिंसा गर्न खोजे रोक्ने सुत्र हो । आफ्नो संवेदनशील अंगलाई अरुबाट बचाउने तरिका हो ।’ यस्तो अभियान प्रहरीको केन्द्रदेखि आएको नभएर जिल्ला प्रहरी कार्यालयले नै तर्जुमा गरेको हो ।
दोलखा प्रहरीले किन फाइट ब्याक नाम दियो ? यौन अपराधविरुद्धको स्कुल शिक्षा कार्यक्रममा दोलखाका विद्यार्थीहरुले मन पराउने शब्द भएकाले उक्त नाम दिइएको प्रहरी प्रमुख डिएसपी पाठकले बताए विद्यार्थीलाई तीन पटक फाइट ब्याक भन्दै ताली पड्काउन लगाएर सुरु गरिने यौन हिसांविरुद्धको शिक्षालाई विद्यार्थीले उपलब्धीको रुपमा लिइरहेका लिएको उनले बताए ।
पहिलो चरणको अन्तिम कार्यक्रम विद्यालयहरुमा प्रहरीले यौन दुराचारविरुद्ध कक्षा चलायो, भिडियो देखायो र अभ्यास सिकायो । १२ वटा स्कुल र एक सार्वजनिक स्थलमा यस्तो कार्यक्रम भएको छ ।
शारीरिक आत्मरक्षासम्बन्धी अभ्यास हो यो । आक्रमण भए प्रत्याक्रमण कसरी गर्ने प्रदर्शन गरिन्छ । कसरी उम्कने, कसरी हिर्काउने र आफूलाई लडाए कसरी प्रत्याक्रमण गरी उम्कने तरिका सिकाइन्छ । उक्त अभियानमा ‘पेन—ड्रप—बक्स’ अर्थात् पीडा पोख्ने बाकस पनि राखिन्छ । उक्त बाकसमा बालबालिकाहरुलाई यौन हिंसा परिवारबाटै भैरहेको हुनसक्छ वा बाहिरियाबाट भन्ने लिखित पीडा पोख्न लगाइन्छ ।
प्रतिरक्षाको कक्षा समाप्त भएपछि भनिन्छ, ‘तपाईंहरुलाई काखमा राख्ने बहानामा, माया गरेको जस्तै गरी सुमसुम्याएको बहानामा कुनै पुरुषले अभद्र कार्य गरिरहेका हुन सक्छन् । सधैं चकलेट दिएर फकाइरहेको हुन सक्छ । फेसबुक र फोनमार्फत् फकाइरहेको हुन सक्छ ।’
जिल्ला प्रहरी कार्यालयले चरिकोट सदरमुकामका विद्यालयहरुमा बढी केन्द्रित गरेर सञ्चालन गरे पनि आइतबारबाट प्रहरीको उक्त अभियान टोली गाउँमा जाँदैछ । मागका आधारमा उत्तरका दुर्गम बस्तीहरुमा पुग्ने कार्यतालिका छ । जिरी नगर र तामाकोसी गाउँपालिका स्कुलहरुबाट पनि माग भएकाले कार्यक्रमको अवधि बढाइएको हो ।
‘स्कुलमै साथी र शिक्षकबाट गलत कार्य गर्ने प्रयास गरिरहेको हुनसक्छ । त्यस्तो कुराले मनमा डराइरहेको छ र अभिभावकलाई भन्न सकिरहेको छैन भने लेखेर यो बाकसमा खसाल्नुस् । आफ्नो पहिचान दिन आवश्यक छैन, दिनु भएमा पनि गोप्य राखिने छ ।’ भिडियो डकुमेन्ट्री, कक्षा र प्रत्याक्रमण अभ्यास सकिसकेपछि राइजिङ स्टार स्कुलका विद्यालका प्रधानाध्यापक उपेन्द्र अधिकारीले विद्यार्थीमा प्रतिरक्षा गर्ने हिम्मत बढेको बताए ।

दिलबहादुर केसी