कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
570

१३ वर्षीय किशोरी निर्मला पन्त बलात्कार–हत्याको अनुसन्धानमा गम्भीर लापरवाही गरेको अभियोगमा नेपाल प्रहरीका थप २ जना कर्मचारी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका सई हरसिंह धामी र प्रही जवान चाँदनी साउदलाई सोमबार निलम्बन गरेको हो ।
उक्त घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको अभियोगमै कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट, अनुसन्धान अधिकृत डीएसपी ज्ञानबहादुर सेठी, घटनाको छानविन गर्न केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएका डीएसपी अंगुर जीसी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा समई रामसिंह धामी यसअघि नै निलम्बनमा परिसकेका छन् ।

अनुसन्धानमा लापरवाही गर्नेमाथि थप छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एआईजी धिरु बस्न्यातको संयोजकत्वमा अनुसन्धान टोली नै गठन गसिकेको छ । अनुसन्धान टोलीले छानबिन जारी राखेको प्रहरी मुख्यालयले जनाएको छ । आइतबार मात्रै निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न गठित समितिले तयार पारेको ३७ पृष्ठ लामो प्रतिवेदन गृह मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।
प्रतिवेदनमा घटनाको अनुुसन्धानमा प्रहरीबाटै गम्भीर लापरवाही भएको औंल्याइएको छ । यद्यपी दोषी को हो भन्नेबारे अझै कुनै ठोस प्रमाण फेला परिसकेको छैन । छानबिनकै क्रममा निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट र कञ्चनपुरकै अर्का युवक आयुष विष्टको डीएनए परीक्षण गरिएको थियो । तर, बलात्कारपछि हत्या गरिएकी निर्मलासँग तीनैजनाको डीएएनए नमिलेपछि प्रहरी नयाँ शीराबाट घटनाको अनुसन्धानमा जुटेको छ ।