कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५
481

छोटी भन्सार नभएकै कारणले नेपालबाट पनि सुन, डिजेल, पेट्रोल, जडिबुटीलगायतका थुप्रै सामान अवैधरूपमा भारत निकासी हुने गरेको छ ।
तत्काल पुनस्र्थापना गर्न उद्योगी व्यवसायीको माग

नेपालगन्ज-तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र द्वन्द्वकालमा विस्थापित भएका बाँकेका ७ वटा छोटी भन्सार पुनस्र्थापना नहुँदा अवैध चोरी पैठारी बढेको उद्योगी व्यवसायीहरूले बताएका छन् । अवैध चारी पैठारी नियन्त्रणका लागि बन्द गरिएका छोटी भन्सारलाई तत्काल पुनस्र्थापना गर्नुपर्ने मागसमेत उनीहरूले गरेका छन् । छोटी भन्सारको अभावका कारण जिल्लाका विभिन्न नाकाबाट राजस्व चुहावट गरेर दैनिक लाखौं मूल्यका सामान अवैध चोरी पैठारी भइरहेकाले नेपालगन्जको ब्यापार व्यवसायसमेत प्रभावत भएको स्थानीय व्यवसायी बताउँछन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले लामो समयदेखि छोटी भन्सार नहुँदा विभिन्न नाकाबाट अवैध सामान भित्रिने क्रम बढ्दै गएको बताए । उनले भारतबाट तीनै नाका हुँदै ठूलो परिमाणमा खाद्यान्न, सिमेन्ट, कपडा, रेडिमेड र कस्मेटिकलगायतका सामान भित्रिने गरेको बताए । द्वन्द्वकालमा बन्द भएका भन्सार पुनस्र्थापना हुन नसक्दा दैनिक ५० लाख रूपैयाँभन्दा बढीको अवैध सामान नेपाल भित्रिने गरेको उनको भनाइ छ । “छोटी भन्सार कार्यालय नहुँदा खुलेआम जति पनि सामान ल्याउन र लैजान सकिन्छ,” नरैनापुर गाउँपालिका–५, मटेहियाका राजेश दीक्षितले भने, “न भन्सार शुल्क तिर्नुपर्छ, न कसैले रोकटोकनै गर्छ ।”
छोटी भन्सार नभएकै कारणले नेपालबाट पनि सुन, डिजेल, पेट्रोल, जडिबुटीलगायतका थुप्रै सामान अवैधरूपमा भारत निकासी हुने गरेको छ । यसैगरी सीमानामा रोकटोक गर्ने निकाय भन्सार नै नहुँदा मनपरी देखिएको र भारतबाट राजस्व छलेर ल्याइएका सामान सस्तोमा बिक्री गर्न सकिने भएकाले स्थानीय व्यवसायीको ब्यापारमा ठूलो प्रभाव परेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । उनले सीमानामा छोटी भन्सार सञ्चालन गरेर भए पनि तत्काल चोरी पैठारी रोक्न माग गरे ।
पहिले छोटी भन्सार रहेका नाका भएर अहिले दैनिक सयौं स्थानीय ब्यापारी तथा सर्वसाधारण भारतको विभिन्न बजारमा खरिदारीका लागि पुग्ने गरेका छन् । राजश्व असुली गर्न सरकारी निकाय सीमानामा नभएपछि राजस्व तिर्न नपर्ने र जति पनि सामान ल्याउन पाइने अवस्था रहेको डुडुवा गाउँपालिका–३, होलियाका जितुराम मिश्रको भनाइ छ । त्यहाँ अहिले राजस्व लिने कोही नभएपछि सामान किनमेल गरेर फर्किनेहरू निर्धक्क ओहोरदोहोर गर्ने गर्दछन् ।
१५ वर्षअघि तत्कालीन माओवादीले धम्की दिएको भन्दै सात ठाउँमा रहेका छोटी भन्सार कार्यालय विस्थापित भएको थियो । माओवादीबाट असुरक्षित भएको भन्दै कर्मचारी र सुरक्षाकर्मी नेपालगन्ज फर्किएपछि छोटी भन्सार कार्यालय बन्द भएको थियो । कर्मचारी नबसेपछि सबै भन्सार कार्यालयका भवन अहिले जीर्ण बनेका छन् । छोटी भन्सारका लागि निर्माण गरिएका भवन तरकारी खेती र गाई गोठको रूपमा प्रयोग हुँदै आएका छन् ।