कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
210

विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलास कक्षबाट न्यायिक सेवा सुरु गरेको छ । न्यायिक समितिमा पर्ने मुद्दा यसअघि इजलास कक्षको अभावमा उपप्रमुखको कार्यकक्षबाट नै कार्यसम्पादन हुँदै आएको थियो ।
महानगरले छुट्टै इजलास कक्षको निर्माण गरी न्याय निरुपण सुरु गरेको हो । न्यायिक समितिमा पर्ने मुद्दाको सुनुवाई साप्ताहिक रुपमा इजालस कक्षबाट प्रत्येक बुधबार गरिने उपप्रमुख इन्दिरा कार्कीले बताइन् ।
महानगर प्रमुख भीम पराजुली, उपमेयर एवं न्यायिक समितिकी संयोजक इन्दिरा कार्कीसहित समितिका सदस्यहरूले इजलासको शुभारम्भ गरेका थिए । न्यायिक समितिका अन्य सदस्यमा विनोदकुमार बस्नेत र तीर्थेन्द्र न्यौपाने रहेका छन् । महानगरपालिकाको न्यायिक समितिमा एक वर्षको अवधिमा ७१ वटा मुद्दा परेको उपप्रमुख कार्कीले जानकारी दिइन् । स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा परेका मुद्दामध्ये सम्बन्ध बिच्छेदका २३ वटा मुद्दा परेका छन् । त्यसमा १५ वटा मुद्दा मोरङ जिल्ला अदालतमा सिफारिस गरिएको छ । २ वटा मुद्दालाई मेलमिलाप गराइएको छ भने ६ वटालाई तारेखमा राखिएको छ ।