कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
238

काठमाडौं-अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारले आफूहरुसँग गरेको सम्झौता अक्षरश पालना गर्नुपर्ने माग गरेको छ । शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो ।
संघका केन्द्रीय उपाध्यक्ष कुमार राउतले कर्मचारीसँग खोसिएका परिचयपत्रहरु तत्काल सरकारले फिर्ता गर्नुपर्ने बताए । उनले भने, “हटाएका कर्मचारीहरुलाई तत्काल हाजिर गराउनुपर्छ ।” सरकारसँग भएको सम्झौता एक महिनाभित्र कार्यान्वयन नभए श्रमजिवी आधिकारिक सबै ट्रेड युनियनहरुले सशक्त आन्दोलन गर्ने पनि राउतले चेतावनी दिए ।

संघकी महासचिव विमला आचार्यले पनि सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन हुनुपर्ने बताईन् । सरकारले आफूहरुसँग गरेको सहमतिको निर्णय नम्बर २ बमोजिम मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णय र सर्वोच्च अदालतको मिति ०७३ जेठ ३ गतेको फैसलाअनुसार सेवासुविधा पुनरावलोकन गर्न पनि उनले आग्रह गरिन् ।
संघीय र प्रादेशिक संरचनाले गर्दा खारेजी र समायोजनमा परेका मन्त्रालय, विभाग र जिल्ला कार्यालयका अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुलाई तत्तत् स्थानमा व्यवस्थापन गर्नुपर्ने र यदि त्यसो नभए सम्मानजनक रुपमा उनीहरुलाई घर पठाउनुपर्ने पनि उनले बताइन् ।