कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
213

वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन भएको छ । तुलाधरको ७८ वर्षको उमेरमा आइतबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
नौ दिनअघि ब्रेन ह्यामरेजका कारण अन्नपूर्ण अस्पतालमा भर्ना गरिएका तुलाधरको स्वास्थ्य अवस्था थप जटिल बनेपछि नर्भिकमा सारिएको थियो । तुलाधरको शव आइतबार नै निजी निवास लाजिम्पाट लगिएको छ । उनको सोमबार अन्त्येष्टि गरिने बताइएको छ । उनका दुई छोरा र दुई छोरी छन् । तुलाधरको निधन भएपछि नर्भिक अस्पताल पुगेर विभिन्न दलका नेताहरुले श्रद्धाञ्जली दिएका थिए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्का नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत नर्भिक अस्पताल पुगेका थिए । तुलाधरको निधनमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वसभामुख ढुंगना लगायतले दुःख व्यक्त गरेका छन् ।

को हुन् तुलाधर ?

तत्कालीन युद्धरत नेकपा (माओवादी) लाई शान्ति वार्तामा ल्याउने सहजकर्ताको भूमिका निर्वाह गरेका तुलाधर २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा बहुदल माग गर्दै आन्दोलन गर्ने नेता हुन् । तुलाधरले पञ्चायत सरकारका गृहमन्त्रीसमेत रहेका जोगमेहर श्रेष्ठलाई हराएका थिए । सूर्य चिन्ह लिएर राष्ट्रिय पञ्चायतमा उठेका तुलाधरलाई वामपन्थी र प्रजातन्त्रवादीहरुको समर्थन थियो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापश्चात् भएको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंबाट उठेका उनलाई एमालेले समर्थन गरेपछि कांग्रेस नेतृ मंगलादेवी सिंहलाई हराएका थिए ।
बहुदलकालमा उनी मानवअधिकारवादी र २०६२÷०६३ को आन्दोलनताका उनी नागरिक समाजको अगुवाका रूपमा परिचित थिए । दोस्रो जनआन्दोलनपछि भएका पहिचानका आन्दोलनमा समेत तुलाधर सक्रिय रहँदै आएका थिए ।