कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
215

कालिकोट- जिर्ण अवस्थामा रहेको जिल्ला कारागार कालिकोटमा २५ जनाको क्षमता भए पनि ६३ जना पुरुष र ७ जना महिला गरी ६९ जना बन्दी रहेकाले कोचाकोच भएको छ । जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा चौबल कैदी र थुनुवा रहेका कारण उनीहरुले सास्ती बेहोर्नु परिरहेको हो ।
क्षमताभन्दा बढी कैदी रहेकाले कारागारमा समस्या रहेको निमित्त जेलर मोहनप्रसाद शर्माले बताए । साँघुरा कोठाहरुमा पुरुष कैदी थुनुवा खचाखच भएकाले समस्या उत्पन्न भइरहेको तिलागुफा नगरपालिका निवासी कैदी मानबहादुर शाहीले गुनासो गरे । उनले राति एक आपसमा खप्टिएर सुत्नुपर्ने अवस्था रहेको समेत बताए ।

बसाइका साथै मनोरञ्जनका सामग्री पनि केही नभएको नरहरिनाथ गाउँपालिका–९ का कैदी महेन्द्र शाहीले बताए । ‘घ’ श्रेणीको जिल्ला कारागार भवन पनि जिर्ण अवस्थामा रहेको छ ।
कैदीले आवश्यक सेवासुविधा र खुल्ला तरिकाले आराम गर्न पाउनु उनीहरुको अधिकार भए पनि सास्ती बेहोर्नु दुखद् भएको कालिकोटका मानव अधिकारकर्मी कालीबहादुर मल्ल बताउँछन् ।