कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
230

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले तास खेल्दै गरेको अवस्थामा ३ जनालाई ३२ हजार नगदसहित खालबाट पक्राउ गरेको छ । सुराकीको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले शनिबार राति मन्थली बजारमा होटल व्यवसाय गर्दै आएका रामबहादुर गिरीको घरवाट तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पूर्व एमालेका क्षेत्र नं. २ का अध्यक्ष समेत रहेका पे्रम तामाङ, होटल सञ्चालक गिरी र खाँडादेवी गाउँपालिका वडा नं. ८ का ३३ वर्षिय रमेश तामाङ छन् । यसअघि सार्वजनिक सूचनामार्फत् प्रहरीले जुवातास नखेल्न र नखेलाउन अनुरोध गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाका अनुसार पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत मन्थलीबाट दश दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।