कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
319

दुई गम्भीर घाइते, एक बेपत्ता

डोल्पाको सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकाको सुपानीका लागि छुटेको जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुनै–सुपानी सडक खण्डको ठूलीभेरी नगरपालिकास्थित कालागौडा नजिकैको बतासे डाँडामा जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा ३ र ७ पुरुष गरी १० जनाको घटनास्थलमै ज्यान गएको छ । जिप चालक त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ का दिनेशबहादुर बोहोरा र त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष नन्दबहादुर थापा गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का ४८ वर्षका हेमराज हमाल, सोही नगरपालिका वडा नं. १ का ६५ वर्षका नरसिंह कठायत, वडा नं. १ कै शेरबहादुर थापा, सोही नगरपालिका वडा नं. २ की १३ वर्षकी अस्मिता रोकाया, सोही नगरपालिका वडा नं.५ की २५ वर्षकी लक्ष्मी रोकायाको ज्यान गएको छ । त्यसैगरी सोही नगरपालिका वडा नं. ३ का वर्ष ४५ का बोध धराला, सोही नगरपालिका वडा नं. ३ की वर्ष १६ की मनिष धराला र ठूलीभेरी नगरपालिका वडा नं. ५ का वर्ष ३० भद्र रोकायाको पनि घटनास्थलमै ज्यान गएको छ ।
सडकबाट जिप भेरी नदीमा खसेको थियो । जिप पानीमा डुबेका कारण चिसोले यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल डोल्पामा राखिएको छ । मंगलबार पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने भएको छ ।
सोही दुर्घटनामा जिल्ला अदालत डोल्पामा कार्यरत त्रिपुरासुन्दरी नगरपालिकाकी अमिना बुढा मगरको झोला भेटिएको र उनी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

लेखबहादुर बुढा