नीरज पिठाकोटे
मंगलबार, कार्तिक २०, २०७५
254

पर्सा र बाराका विभिन्न नाकाबाट मात्रै नभई वीरगन्जको मूल भन्सारबाट समेत सामान तस्करी हुने गरेको छ ।

वीरगन्ज-नेपालीहरुका ठूला चाडपर्वका मुखमा भारतीय सिमावर्ती क्षेत्रबाट तस्करी हुने गरेको पाइएको छ । नेपालको प्रमुख नाका वीरगन्ज भन्सार क्षेत्रका आसपासका स्थानबाट अवैध रूपमा सामान ओसारपसारमा वृद्धि भएको हो ।
पर्सा प्रहरीले सोमबार मात्रै वीरगन्जका विभिन्न स्थानबाट करिब साढे तीन लाख रुपैयाँबराबरको पटाका बरामद गरेर नष्ट गरेको छ । दसैं सकिए यता भारतको रक्सोलबाट वीरगन्ज नाका हुँदै भित्र्याइएको अवस्थामा पर्सा प्रहरीले वीरगन्जका विभिन्न स्थानमा चेकजाच गर्ने क्रममा तीन लाख ५० हजार रुपैयाँबराबरका पटाका बरामद गरेको हो । बरामद गरिएका छुरछुरे, फूलझरी, नागिन् छाप, मुर्गा छाप, आलुबम, आस्मानी, चक्कर, रकेट गरी विभिन्न प्रकारका पटाका नष्ट गरिएको छ ।

पर्सा प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएका चाँदीका गहना र भाडासहित एक जनालाई पनि पक्राउ गरेको छ । वीरगन्जको शंकराचार्य प्रवेशद्वारामा चेकजाँच गर्ने क्रममा भारतको रक्सोल घर भएका वीरबहादुर सोनारको साथबाट पाउजु, सिक्री, गिलास, कचौरा, चम्चा, लकेट, चाबी रिङ, ब्रास्लेट गरी ३ किलो २ सय ५० ग्राम चाँदीका गहना र भाडा बरामद भएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका सोनारलाई आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
यसअघि आइतबार पनि प्रहरीले वीरगन्जबाट अवैध भारतीय रुपैयाँसहित एकजना भारतीय युवालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट भारत रक्सोलको नागारोड बस्ने १९ वर्षिय रोहितकुमार शर्मालाई पाँच सय दरका चार सय थान भारतीय नोटसहित पक्राउ गरेको हो । भारु नोटसहित पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरी उपरिक्षक ढकालले बताए ।
त्यस्तै राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल भन्सार राजस्व गुल्म वीरगन्ज भन्सार कार्यालयले भन्सार छलीको सामानसहितको प्रगति विवरण सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीको वीरगन्ज भन्सार राजश्व गस्ती गुल्मले साढे तीन महिनामा २ करोड रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको जनाएको छ । राजस्व छलेर भारतबाट नेपाल ल्याउँदै गरेको र नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ती सामान बरामद भएको हो । सशस्त्र प्रहरीको भन्सार गुल्मले खाद्यान्न, लत्ता कपडा, मोटरपार्टस, किराना सामान, किटनासक औषधि, केराउ, मरिच, इलेक्ट्रोनिक्स सामान बरामद गरेको जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार साउनदेखि हालम्म १ करोड ९५ लाख मूल्य बराबरको सामान बरामद गरी भन्सार बुझाइसकेको छ । कतिपय पूर्वसूचनाका आधारमा र कतिपय सामान गस्तीका क्रममा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काका अनुसार कात्तिक १८ गते पनि ३ लाख ७ हजार ५ सय ५० रुपैयाँ मूल्य बराबरका समान बरामद भएको छ । सामान ओसार्न प्रयोग गरिएको ना १ ह ५३५४ नम्बरको ई–रिक्सासहित एक जना व्यक्तिसमेत पक्राउ परेका छन् । भारतबाट भन्सार छली अवैध रूपमा ई–रिक्सामा राखेर ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, भाँडा, प्लास्टिकको झोलासहित वीरगन्ज महानगरपालिका–२ छपकैया बस्ने सफिक अन्सारी पक्राउ परेको सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले बताए । बरामद समानसहित अन्सारीलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पर्सा र बाराका विभिन्न नाकाबाट मात्रै नभई वीरगन्जको मूल भन्सारबाट समेत सामान तस्करी हुने गरेको छ । विशेषगरी चाड पर्वको समयमा खाद्यान्न, लत्ता कपडालगायतका सामानको तस्करी बढ्ने गरेको छ । वीरगन्ज भन्सार नाका भारत तथा तेस्रो मुलुकबाट मालसामान भित्रिने मुलुककै मुख्य नाका हो । आईसीपी सञ्चालनमा आएपछि मुख्य नाकाबाट समान आयातमा कमी आएको छ । यही नाका प्रयोग गरेर भन्सार छली समान ल्याउने समूह सक्रिय रहने गरेको छ ।