कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
339

नेपालगन्ज-खाडी मुलुकमा लैजानका लागि विभिन्न प्रलोभन दिएर भारतको गाजियाबाद पु¥याइएका ३७ जना नेपाली युवती तथा कोठीमा बेचिएका ३ जना गरी ४० जना युवतीको भारतबाट उद्धार गरिएको छ । माइती इण्डियाले भारतीय प्रहरीको सहयोगबाट उद्धार गरेका ती नेपाली युवतीलाई नेपालगन्ज ल्याइएको छ ।
उद्धार गरिएका सबैलाई भारतीय प्रहरीको सुरक्षाका बीचमा नेपालगन्ज ल्याइपु¥याइएको माइती नेपाल नेपालगन्जले जनाएको छ । उनीहरु सबैलाई माइती नेपाल नेपालगन्जको कार्यालयमा राखिएको छ । उद्धार गरिएका अधिकांश घरपरिवारको सल्लाहमै वैदेशिक रोजगारका लागि हिँडेको उनीहरुले बताएका छन् ।

भारतको गाजियावादस्थित इन्द्रपुरममा तीन वटा भवनमा राखिएका ३७ जना नेपाली युवतीलाई माइती इण्डियाले प्रहरीको सहयोग लिएर उद्धार गरेको थियो । माइती इण्डियाका बालकृष्ण पाण्डेका अनुसार १३, ७ र १७ जना युवतीलाई फरक–फरक भवनमा राखिएको थियो ।
राम्रो काम र दाम पाइने प्रलोभनमा परेर नेपाली युवतीहरु भारतमा पुगेका थिए । ५०–६० हजार मासिक तलब हुन्छ भनेर दलालले महिलालाई प्रलोभनमा पारेका थिए । उद्धार गरिएकाहरु ती भवनमा दुई दिनदेखि दुई महिनासम्मबाट बसिरहेका थिए । केदारनाथ पाठकसहित पाँच जना मुख्य दलालले नेपाली महिलालाई खाडीमा पठाउँदै आएको उद्धार गरिएका युवतीले जनाएका छन् ।
पाँच जना दलालमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ नपरेका दुई जनामध्ये एकजना दुबई र एकजना काठमाडौँमा रहेको खुलेको छ ।
माइती इण्डियाले यसअघि महिपार्कपुरबाट ५७ र पहाडगन्जबाट २४ जनाको उद्धार गरेको थियो । त्यहाँ उद्धार गरिएकालाई पनि पाठकको समूहले खाडी पठाउने तयारी गरेको थियो । केही समयअघि श्रीलंकामा अलपत्र परेका १ सय ३० जना युवतीहरुलाई पनि यही समूहले पठाएको पाण्डेको भनाइ छ । बिर्तामोड, बर्दिया, वीरगन्ज, सुनौलीलगायतका नाकाबाट उनीहरुलाई भारत पु¥याइएको उद्धार गरेर ल्याइएकी एक युवतीले बताइन् । उनीहरुलाई राम्रो पैसाको लोभ देखाइएको उनले जनाइन् ।
उद्धार गरिएकाहरु २१ देखि ३५ वर्ष उमेरका छन् । उद्धार गरिएकाहरुमा झापाका १०, सिन्धुपाल्चोकका तीन, काभ्रे, कास्की, सुनसरी, सप्तरी, कपिलबस्तु, दैलेखका दुई-दुई र बाँके, दाङ, मोरङ, इलाम, तेह्रथुम, उदयपुरलगायतका जिल्लाका एक–एक जना युवती छन् । माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले काउन्सिलिङ गरेर सबैलाई घरपरिवारको जिम्मा लगाइने बताएका छन् ।