कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
218

खोटाङ- काठमाडौँबाट यात्रु लिएर खोटाङको ऐंसेलुखर्क जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । बा १ ज ५६२७ नम्बरको जिप रावावेशी गाउँपालिका–५ दुवेकोलस्थित स्याखुने खोल्सामा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जना यात्रु घाईते भएका छन्, जसमध्ये ४ जना गम्भिर छन् । गम्भीर घाइते हुनेहरुमा ऐंसेलुखर्क गाउँपालिका–६ का ७२ वर्षीय हर्कबहादुर भट्टराई, ऐंसेलुखर्क गाउँपालिका–२ का २७ वर्षीय जर्मनकुमार भूजेल, उनकी श्रीमति २७ वर्षिय सरिता भूजेल र चालक रहेको रावावेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए । चालकको परिचय र ठेगाना भने खुल्न सकेको छैन ।
गम्भिर घाइते भएकालाई थप उपचारको लागि काठमाडौं र धरानको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको गाउँपालिका प्रमुख निरौलाको भनाइ छ ।