कारोबार संवाददाता
बिहिवार, कार्तिक २२, २०७५
430

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले बलात्कारीहरुलाई कारबाही गरिरहेको बताउँदै निर्मला प्रकरणको दोषी र अपराधीहरु कानुनको कठघरामा छिट्टै आउँने बताए ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले दोषी र अपराधीहरुलाई कानुनको कठघरामा ल्याउने प्रक्रिया जारी रहेको बताएका हुन् ।

सिण्डिकेट अन्त्य भएन ?, कालोबजारीहरुलई कारबाही भएन ? महँगी ह्वात्तै बढेको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘सिण्डिेकट अन्त्य भैसकेको छ । अब त्यसलाई व्यवस्थापन गर्ने काम बाँकी छ । र, त्यो चलिरहेको छ । अब छिट्टै यातायातमा भएको बेथिति, अराजकतालाई व्यवस्थित गरिनेछ । सिण्डिकेट कानुनतः अन्त्य भैसकेको छ । अब चाहीँ फेरी कसैले यातायातको क्षेत्रमा सिण्डिकेट लाद्न सक्दैन् ।’
मुलुकमा सुशासन कायम गर्न र जनताको जनधन दुवैको सुरक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेकोले उल्लेख गर्दै सरकारले सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको मन्त्री थापाको भनाई छ । उनले भने,‘हामी त्यो काममा दृढतापूर्वक लागिरहेका छौं । म सम्पूर्ण लगानीकर्ताहरुलाई देशलाई समृद्ध गर्नमा उहाँहरुको भूमिका अझै वृद्धि होस् । र, उहाँहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी सुरक्षाको प्रत्याभुति गर्छौं भनेर भरोशा दिलाउन चाहन्छु ।’
सडक दुर्घटनाहरु दिनदिनै बढिरहेकोप्रति दुःख व्यक्त मन्त्री थापाले भने,‘यो दुर्घट्ना हुनुको पछाडि ठेक्कासम्बन्धी र यातायातसम्बन्धी नीतिमा कहीँ खोट छ की, सडक निर्माण गर्न दिईरहेको बेला कहीँ कतै त्रुटिहरु भएका छन् । अब त्यसलाई हामीले सच्याउन जरुरी छ । सडकहरुको अवस्थाबारे निर्माण व्यवसायीहरुको पनि धेरै हदसम्म जिम्मेवारी छ । नीतिगत रुपमा अब सच्याउनुपर्छ ।’