मातृका दाहाल
आइतवार, मंसिर २, २०७५
613

सबै सैनिक कर्मचारीको शैक्षिक योग्यता विवरण अपडेट हुन्छ :
गोकुल भण्डारी,
प्रवक्ता नेपाली सेना

नेपाली सेनाले सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्रमाथि छानबिन सुरु भएको छ । सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मेख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको हो ।
सेवा प्रवेश तथा बढुवाका क्रममा अधिकृतहरूले पेश गरेका सबै शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका हुन् । प्रधानसेनापति थापाको निर्देशन पछि सैनिक मुख्यालयले जंगी अड्डा सहित देशभर रहेका पृतना, वाहिनी, शिक्षालय, गण, गुल्म लगायत सबै युनिटमा कार्यरत अधिकृत तहका कर्मचारीको माध्यमिक तथा उच्च शिक्षासँग सम्वन्धित कागजात छानबिन प्रक्रिया अघि बढाएको हो । सैनिक सचिवका तर्फबाट कात्तिक १९ गते गरिएको सर्कुलरमा कात्तिक २९ गतेभित्र शैक्षिक योग्यता र तालिमसम्बन्धी कागजात पेश गर्न भनिएकोमा अधिकांशले समयभित्रै विवरण बुझाइसकेका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले अधिकृत तहका सबै सैनिकको शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा रहेको स्पष्ट पारे । “अधिकृत तहका सैनिक कर्मचारीको शैक्षिक प्रमाणपत्र एकमुष्ट रुपमा अपडेट गर्न लागिएको हो, यसलाई हामीले नियमित प्रक्रियाका रुपमा लिएका छौं,” प्रवक्ता भण्डारीले कारोबारसँग भने, “अधिकृतहरूको करिअरमा यसले सकारात्मक असर पुग्ने हाम्रो अपेक्षा छ ।”
एकमुष्ट डकुमेन्ट अपडेट हुँदा सरुवा/बढुवा तथा वृत्तिविकासमा सहज आउँनुका साथै कुनै व्यक्ति उपर उजुरी परे छानबिन तथा आवश्यक निर्णय लिन पनि सहज हुने प्रवक्ता भण्डारीले बताए । सरकारले मान्यता दिएका देश तथा विदेश स्थित विद्यालय/विश्वविद्यालय/परीक्षा बोर्ड लगायत शैक्षिक संस्थासँग समन्वय गरी अधिकृतहरूको कागजात सक्कली/नक्कलीबारे प्रमाणीकरण गर्ने सेनाले जनाएको छ ।
२ महिनाअघि परिचरदेखि प्रधानसेनापतिसम्मलाई शैक्षिक प्रमाणपत्र पेश गर्न भनिएकोमा सैनिक सचिवका तर्फबाट पछिल्लो पटक पुनः अधिकृत हरूका लागि मात्रै सम्वन्धित युनिट मार्फत विद्यालय तथा विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्र अनिवार्य पेश गर्न सर्कुलर गरिएको हो ।
डकुमेन्ट संकलन पूरा भएपछि सबैको क्रमशः छानबिन गरी सक्कली/नक्कली वा सरकारले मान्यता दिएका/नदिएका संस्था भन्ने यकिन हुने सेनाले जनाएको छ । सेनामा प्रधानसेनापतिदेखि परिचरसम्म दर्जा १९ तह रहेका छन् । शैक्षिक प्रमाणपत्र छानबिनको दायरामा भने सहायक–सेनानी देखि प्रधानसेनापति सम्मको १० तहका अधिकृत रहेको सैनिक स्रोत बताउँछन् । सहायक– सेनानी, उप–सेनानी, सह–सेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथी, उपरथी, रथी र महारथी (प्रधानसेनापति) सम्मको दर्जालाई सेनामा अधिकृत तह मानिन्छ ।
करिब ९७ हजार फौज कार्यरत सेनामा अधिकृत तहको संख्या ६ देखि ८ हजार सम्म छ । तत्कालिन प्रधानसेनापतिद्धय गौरवशमशेर राणा र राजेन्द्र क्षेत्रीको पालामा व्यक्तिगत तहमा मात्रै शैक्षिक प्रमाणपत्र छानबिन भएको तर अव एकमुष्ट प्रमाणपत्र छानबिन गरेर सरुवा/बढुवा तथा वृत्तिविकासको निर्णय लिइने स्रोतले जानकारी दियो ।
२ वर्षअघि रथी वलदेवराज महतको अध्यक्षतामा बोर्ड नै गठन गरेर सेनाले केही उच्च अधिकारीको शैक्षिक प्रमाणपत्रमाथि छानबिन गरेको थियो । त्यसबेला नक्कली प्रमाणपत्र, अनलाइन अध्ययन र सरकारले मान्यता नदिएका संस्था लगायतबाट प्राप्त डकुमेन्ट पेश गर्नेलाई बढुवामा रोक लगाइएको सेनाको दावी छ । तर, केही अधिकृतहरूमाथि भने राजनीतिक स्वार्थ र करिअरमै दीर्घकालिन असर पुग्ने गरी प्रधानसेनापतिले रिसइवीका आधारमा निर्णय लिएको एक असन्तुष्ट सैनिक अधिकारीले दाबी गरे ।
“नक्कली प्रमाणपत्रधारी वा मान्यता नपाएका संस्थालाई स्वीकार गर्नुपर्छ भन्ने हाम्रो माग होइन तर अन्यत्र सबैमा काम लाग्ने तर सेनामा पनि बढुवाका बेला मात्रै प्रमाणपत्रको बैधानिकता पुग्दैन भन्न पाइन्छ र ?” एक सहायक रथीले भने, “नेतृत्वमा सीमित बर्गको मात्रै वर्चश्व चाहने प्रवृत्ति निकै हावी छ ।” नक्कली प्रमाणपत्र प्रकरणमै २०७० मा तत्कालिन सहायक रथी हेम खत्री सेवाबाटै बर्खास्त भए । खत्री सहित अन्य केही उपल्लो तहका अधिकारी पनि नक्कली प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको अभियोगमा सेवाबाट बखाृस्तमा परेका थिए ।
भावी प्रधानसेनापतिका दावेदार मानिएका सहायक रथी नैनराज दाहाललाई अनलाइन प्रमाणपत्र भएको दावी सहित बढुवा नै गरिएन । बढुवा नपाएपछि आफ्नो प्रमाणपत्रको बैधानिकता जाँची पाउँ भन्दै अदालत गएका दाहालले सहायक रथीबाटै केही दिन अघि मात्रै अवकास पाए । उनको १ वर्ष सम्म पदावधि बढाउँन मिल्ने कानुनी व्यवस्था हुँदाहुँदै सैनिक मूख्यालयले म्याद थप सिफारिस नै नगरी अवकानसमा पठाएको हो । स्नातक तह प्रमाणपत्र अनलाइन प्रमाणपत्र भएकैले दाहाललाई बढुवा नगरिएको सेनाको दावी छ तर उनले सैनिक मूख्यालय र रक्षा मन्त्रालयमा पेश गरेको प्रमाणपत्र भने इन्दिरागान्धी खुल्ला विश्वविद्यालयबाट प्राप्त रहेको उल्लेख छ ।